कांग्रेस संस्थापन पक्षको आपत्ति, इतर पक्ष अदालततिर
काठमाडौं । नेपाली कांग्रेसले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनधिकृत रूपमा प्रयोग गरिएकोमा ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिको आज सानेपामा बसेको बैठकले संस्थापन इतर समूहको गतिविधिमाथि आपत्ति जनाउँदै सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनधिकृत रूपमा प्रयोग भएको विषयमा ध्यानाकर्षण भएको समितिका संयोजक तारामान गुरुङले जनाएको हो।
पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आँच आउने गरी गलत आरोप र शब्दहरू प्रयोग गरिएकोमा समेत अनुशासन समितिले रेकर्ड संकलन गरिरहेको उनले जानकारी दिए। संयोजक गुरुङले निर्वाचनका क्रममा भएका अनुशासनहीन गतिविधिहरूका सम्बन्धमा समितिमा हालसम्म प्राप्त ७५४ वटा निवेदन अनुसन्धानको क्रम जारी रहेको जानकारी दिए। महाधिवेशन प्रक्रिया सुरु भइसकेकाले वडा अधिवेशन सुरु हुनुअगावै यसबारे उचित निर्णय गरिने उनको भनाइ छ। उनले असोज १६ देखि १९ गतेभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अगाडि बढाइएको जानकारी समेत दिए।
देउवा र खड्काको महाधिवेशन रोक्न माग
१५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतमा निवेदन दिएका छन् । रिट दर्ताका लागि देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवण कुमार सर्वोच्च गएका छन् ।
नेपाली कांग्रेसको इतर समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगिसकेको जानकारी दिए । निवेदनमा कांग्रेसको महाधिवेशनसम्बन्धी हालै सार्वजनिक गरिएको प्रक्रिया र कार्यतालिका रोक्न ‘उत्प्रेषणको आदेश’ माग गरिएको छ । संस्थापन पक्षले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।
