कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने गरी विभिन्न तहका अधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पार्टीको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न हुनेछ ।

यसअघि तोकिएको मिति परिवर्तन नगरी बाँकी तहगत अधिवेशनको समयतालिका परिमार्जन गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकले संविधान, प्रचलित कानुन र पार्टी विधानलाई ध्यानमा राख्दै असोज १६ देखि १९ गतेकै मितिमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । पार्टीभित्र व्यापक सहभागिताका लागि संवाद र सहमतिको वातावरण निर्माण गर्न तथा वर्षायामका कारण वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका र क्षेत्रीय अधिवेशनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै अन्य तहका अधिवेशनको कार्यतालिका परिमार्जन गर्न निर्देशन दिएको थियो ।

केन्द्रीय निर्वाचन समितिका अनुसार भदौ २–१० गतेसम्म काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइनेछ । भदौ ११ गते निर्वाचन अधिकृतहरू जिल्लामा खटाइनेछन् भने भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाइनेछ । वडामा अभिमुखीकरण तालिम भने भदौ १६ देखि २० गतेसम्म सञ्चालन हुनेछ । बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

कार्यतालिकाअनुसार ६ हजार ७४३ वटै वडामा भदौ २४ गते गाउँ–नगर वडा अधिवेशन हुनेछ । अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ । त्यसपछि भदौ २७ गते गाउँ–नगरपालिका अधिवेशन हुनेछ । भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा १ मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन हुनेछ । असोज ३ गतेको अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयनसँगै सम्बन्धित कार्यसमितिको निर्वाचनसमेत हुनेछ ।

जिल्ला अधिवेशन असोज ७ गते र प्रदेश अधिवेशन असोज १० गते गर्ने कार्यतालिका तय गरिएको छ । अन्तिम चरणमा कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते सम्पन्न हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर