गगन इतर कांग्रेस पक्षको राष्ट्रिय भेला सुरु, देउवाले गरे उद्घाटन
काठमाडौ । नेपाली कांग्रेसका वर्तमान सभापति गगनकुमार थापासँग असन्तुष्ट र पार्टीकै पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला सुरु भएको छ। राजधानीको
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी भेलाको देउवाले पानसमा बत्ती बालेर उद्घाटन गरे ।
भेलाको सुरुआतमै आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले कांग्रेसलाई एकजुट गर्नको लागि आफूहरूले भेला राखेको दावी गरेका थिए । भेलामा अहिले सहभागी नेताहरूले आ–आफ्नो धारणा व्यक्त गरिहेका छन् । भेलामा बोल्ने नेताहरूलाई ३ मिनेटको समय दिइएको नेता मीन विश्वकर्माले बताए। आज उद्घाटित भेला ३ दिनसम्म चल्नेछ।
‘शेरबहादुरजीलाई बी.पी. कोइरालाले पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको प्रशंसा गर्दै भने, ‘शेरबहादुरजीलाई बी.पी. कोइरालाले पश्चिमको राजकुमार भन्नुहुन्थ्यो।’
उनले थपे, ‘उहाँको स्वागतको लागि हिजो जुन उत्साह देखेँ, मलाई त अचम्म लाग्यो। शेरबहादुरजी नै हाम्रो नेता हो। हाम्रो सभापति शेरबहादुरजी हो। उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ।’
उनले देउवा बनारस पहिलो चोटि आउँदा आफूले घुमाएको पनि स्मरण गरे। उनले देउवा आउने बित्तिकै भेला सफल भएको जिकिर गरे।
