किन रुष्ट छन् घण्टीका सांसदहरूसँग सुरक्षा निकाय ?

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि प्रस्तुत गरेको आक्रामक शैलीले निजामती तथा सुरक्षा संयन्त्रभित्रको असन्तुष्टि सतहमा ल्याएको छ ।

निर्वाचनका लागि म्यादी प्रहरी परिचालन तथा प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप लगाउँदै सुनुवारले दुवै अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने माग गरेका थिए ।

बैठकमा सुनुवारले खरिद प्रक्रियामाथि प्रश्न उठाउँदै टेबल ठोकेर आक्रोश व्यक्त गरेका थिए । ‘सामान खरिदमा भ्रष्टाचार गर्ने, जुत्ता खरिदमा भ्रष्टाचार गर्ने, अरू त अरू लठ्ठी (भाटा) खरिदमा भ्रष्टाचार गर्ने,’ भन्दै उनले खरिद गरिएको भाटाले जनतालाई हान्न नपाइने टिप्पणी गरेका थिए ।

बैठकमा करिब आधा घण्टा ढिलो उपस्थित भएको भन्दै सुनारले गृहसचिव श्रेष्ठमाथि समेत प्रश्न उठाए । श्रेष्ठले भने शालीन रूपमा जवाफ दिँदै आफू, आफ्नो परिवार र नातेदारसमेतको छानबिन गर्न सकिने बताएका थिए । उनले छानबिनमा आफूले सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाए ।

गृहसचिव श्रेष्ठले निर्वाचन प्रहरीका लागि आवश्यक सामग्री खरिद गर्न मन्त्रालयले प्रक्रिया अघि बढाउँदा समय अभाव हुने भएकाले प्रहरीलाई नै रकम उपलब्ध गराइएको स्पष्ट पारे । मन्त्रालयको तर्फबाट खरिदमा कुनै अनियमितता नभएको उनको दाबी थियो ।

सुनारको प्रस्तुतिपछि समिति बैठकमै सांसदको मर्यादा र प्रस्तुतीकरणको शैली’ माथि प्रश्न उठेको थियो । तर उनी आक्रोशित रूपमा प्रस्तुत भइरहे । गृहसचिव र प्रहरी महानिरीक्षकले जवाफ दिएपछि उनी बैठकबाट बाहिरिएको थियो ।

लेखा समिति बैठकको यो घटना पछिल्लो समय सरकार र सत्तारूढ दलका सांसदबाट निजामती तथा सुरक्षा संयन्त्रमाथि हुने सार्वजनिक टिप्पणी र व्यवहारप्रतिको असन्तुष्टिको पछिल्लो उदाहरण भएको कर्मचारीहरू बताउँछन् ।

रास्वपाका सांसदहरूले नेपाली कांग्रेस, नेकपा एमालेलगायत पुराना दललाई ‘३५ वर्ष देश लुटेको’ आरोप लगाउँदै आएका छन् । त्यसपछि कर्मचारी संयन्त्रलाई समेत पुरानो राजनीतिक व्यवस्थाका ‘मतियार’का रूपमा चित्रित गर्ने अभिव्यक्ति आउने गरेको भन्दै उच्च तहका कर्मचारी असन्तुष्ट छन् ।

ग्यास अभाव, सुकुम्वासी समस्या तथा सरकारका अन्य निर्णय कार्यान्वयनमा देखिएका कमजोरी’ माथि प्रश्न उठ्दा राजनीतिक नेतृत्वले ‘३५ वर्ष देश लुट्ने नेता’पछि ‘ब्युरोक्रेसी पुरानै छ’ भन्ने जवाफ दिने गरेको कर्मचारीहरूको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर