कांग्रेसको वैधानिक सभापति देउवा : शशांक
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् ।
बिहीबार देउवा स्वास्थ्योपचारपछि स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका कोइरालाले यस्तो दाबी गरेका हुन् । सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै उनले देउवाकै नेतृत्वमा पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।
कोइरालाले कांग्रेसभित्रको आन्तरिक एकतामा जोड दिँदै पार्टीबाट बाहिरिएका पक्षलाई पुनः मूलधारमा ल्याउनुपर्ने बताए । पार्टीलाई एकढिक्का बनाउने प्रयास जारी रहने उनको भनाइ छ ।
‘सानेपा कांग्रेस छुट्टिएर गएको छ, उनीहरू आउनुपर्ने हो । उनीहरूले अनादर गर्छन्, के गर्छन् उनीहरूको कुरा हो । देउवा पार्टीको सभापति नै हो । अहिले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै हो । उहाँ नै सभापति हो । स्टे अर्डर आएको छ कि छैन ? हाम्रो प्रयास एक गर्न रहन्छ’, कोइरालाले भने ।
