एसीसी प्रिमियर कप : साउदीसँग नेपालको पहिलो खेल
काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ । आगामी अगस्ट ३० तारिखदेखि मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि एसीसीले शनिबार खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर १ तारिख साउदी अरेबियासँग खेल्नेछ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ ।
अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेको छ । नेपालले समूहको दोस्रो खेल सेप्टेम्बर ३ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ५ मा मलेसिया र चौथो खेल सेप्टेम्बर ७ तारिख हङकङसँग खेल्नेछ ।
समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा स्थान बनाउनेछ ।
