प्रधानमन्त्री बालेनप्रति राजावादीहरूको मोह भंग, बालेन संघीयताको कित्तामा

काठमाडौं । नेपाली राजनीतिमा २०८३ सालको प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ सिट जितेपछि नेपालमा राजसंस्था पुनःस्थापना गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अप्रत्यक्ष रूपमा हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा भूमिका खेल्न सक्ने आँकलन गरिएर राजावादीहरू हौसिएका थिए । तर मधेश क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि मधेश केन्द्रित दलका नेताहरूसँय हिजो शुक्रबार शान्ति र सद्भाव स्थापनार्थ भएको छलफलपछि प्रधानमन्त्री बालेन राजसंस्थाकाबारेमा जेजस्तो अभिव्यक्ति दिएका छन्, त्यसबाट प्रष्ट के भएको छ भने प्रधानमन्त्री बालेन हिन्दुराष्ट्र र राजसंस्था ल्याउने पक्ष नभएको कित्ताकाट भएको छ । यसबाट राजवादीहरूको प्रधानमन्त्री बाल्नसँग मोह भंग भएको विश्लेषण गरिएको छ ।

राजावादी आन्दोलनमा लागेका एक जना नेताले भने, “हिजोको प्रधानमन्त्रीको अभिव्यक्तिले प्रत्येक राजवादीले अब बालेनप्रति राजसंस्था पुनःस्थापना गर्ने कुरामा साथ, सहयोग हुन्छ भनेर अझै क्रेडिट दिने काम गर्छ वा हुन्छ भने त्यो एक दिवा स्वप्न हुनेछ । बालेनको स्टेटमेन्ट इट्स लाउड एन्ड क्लियर ।”

‘हिन्दू राष्ट्र बनाउने तिर छैनौँ, तराई–मधेसमा हिन्दू राष्ट्रका लागि भएको आन्दोलनको अर्को मर्म छ। पहाडतिरको अर्को मर्म छ,’ बालेनको भनाइ उद्धृत गर्दै जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले भने, ‘राजा ल्याउने पक्षमा छैनौँ। त्यसले संघीयतालाई कमजोर गर्छ।’

नेताहरूले बालेनलाई हिन्दू राष्ट्रका विषयमा प्रश्न गरेका थिए। जवाफमा बालेनले भनेका थिए, ‘हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउँछ अहिले त्यसो गर्दा ठिक हुँदैन। संघीयताको कमिटमेन्ट पनि म पूरा गरेर जान्छु।’

जसपा नेपाल महासचिव शर्माले हिन्दू राष्ट्र र राजाको बारेमा प्रधानमन्त्री बालेनको प्रस्ट धारणा देखिएको बताए। बैठकमा बालेनले आफू र आफ्नो पार्टी रास्वपा संघीयताका पक्षमा प्रतिबद्ध रहेको धारणा राखेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए। साथै बालेनले छानबिन प्रतिवेदनमा दोषी देखिएकाहरूलाई कारबाही गर्ने र पीडितसँग भएका सम्झौताहरू कार्यान्वयन हुनेमा ढुक्क हुन भनेका थिए।
‘केही तत्वहरूले साम्प्रदायिक दंगा गराएर स्वार्थ सिद्ध गर्न खोजिराखेका छन्, त्यसविरुद्ध तपाईं हामी सबै मिलेर लड्नुपर्नेछ,’ बालेनको भनाइ उद्धृत गर्दै महतोले भने, ‘तराईरमधेसमा देखिएको साम्प्रदायिक दंगालाई साम्य पार्न सरकार लागिरहेको छ। तपाईंहरूले पनि साथ दिनुपर्‍यो। आ(आफ्नो ठाउँबाट सबै लागौँ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर