वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले पार्टी विधानबमोजिम उहाँलाई सभापतिपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेताको पदमा शाहलाई मनोनयन गर्दै पार्टीको नेतृत्वलाई थप प्रभावकारी, समन्वयात्मक र जिम्मेवार बनाउने विश्वास व्यक्त गरेको छ । पार्टीका पूर्वमहामन्त्री तथा प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकले विधान अनुसार रिक्त मनोनीत पदमा आवश्यक निर्णय गर्दै सङ्गठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि जनाएको छ ।

रास्वपाको विधान अनुसार महाधिवेशनबाट सभापतिसहित आठ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । यसबाहेक वरिष्ठ नेता, उपसभापति, महामन्त्रीलगायत ११ जना पदाधिकारी तथा ५१ जना केन्द्रीय सदस्य सभापतिको सिफारिसमा केन्द्रीय समितिले मनोनयन गर्न सक्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर