फुटबलमा अर्जेन्टिना र इङल्यान्डबिच रियल ब्याटल हुँदैछ

काठमाडौं ।  विश्वकप फुटबलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाको प्रतिद्वन्द्विता सबैभन्दा हेर्नलायक मानिन्छ । विश्वकप फुटबल २०२६ मा यी दुई टिमको भिडन्त (रियल ब्याटल ) सेमिफाइनलमा हुँदैछ । दशकौँदेखिको फुटबलमा प्रतिद्वन्द्विता मात्र होइन, यी दुईबिचको खेलमा राजनीतिक इतिहास पनि मिसिएको छ ।

सन् १९६२ पछि विश्वकपमा यी दुई टिमबिचको प्रतिस्पर्धामा इङ्ग्ल्यान्डले तीन खेल जितेको छ तर विश्व फुटबलमा चर्चा भने इङ्ग्ल्यान्डले हारेका दुई खेलको हुने गर्दछ । सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा डिएगो म्याराडोनाको अलोकप्रिय ‘ह्यान्ड अफ गड’ र शताब्दीकै उत्कृष्ट गोलको सहयोगमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराएको थियो । सो समय अर्जेन्टिनाले यस जितलाई फकल्यान्ड युद्धमा ‘ब्रिटिस’ सँग हारेको बदलाका रूपमा पनि लिएको थियो । १२ वर्षपछि यी दुई टिमबिचको खेल सो समयका सुपर स्टार इङ्ग्ल्यान्डका डेभिड बेकह्यामले डिएगो सिमियोनीलाई प्रहार गरेर रातो कार्ड पाएपछि चर्चित भयो । बेकह्यामको रातो कार्ड इङ्ग्ल्यान्डको पराजयको कारण पनि बन्यो । यद्यपि बेकह्यामले चार वर्षपछि नै गोल गरेर अर्जेन्टिनालाई समूह चरणबाट बिदा गराएर बदला लिनुभएको थियो ।

अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने प्रयास गर्दै छ । यसै गरी इङ्ग्ल्यान्डविरुद्ध जित प्राप्त गरेमा अर्जेन्टिनाले पछिल्ला चार विश्वकपमध्ये तीनमा फाइनल खेलेको गौरव हासिल गर्ने छ । इङ्ग्ल्यान्ड भने सन् १९६६ मा विश्वकप जितेको गौरवलाई दोहो¥याउने अभियानमा छ । सो विश्वकप इङ्ग्ल्यान्डको अहिलेसम्मकै एक मात्र प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो । त्यसपछि इङ्ग्ल्यान्डले कैयौँ पटक नजिक पुगेर पनि प्रमुख उपाधि जित्न सकेको छैन । पछिल्ला आठ वर्षको मात्र कुरा गर्ने हो भने इङ्ग्ल्यान्ड विश्वकप २०१८ को सेमिफाइनल तथा युरो च्याम्पियनसिप २०२१ – २०२४ को फाइनलमा पुगेको थियो । इङ्ग्ल्यान्ड यसपालि विश्वकप उपाधिको पर्खाइलाई समाप्त पार्ने दाउमा छ ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले भन्नुभएको छ, “विश्वकप सेमिफाइनल त्यो पनि एक महान् टिम, फुटबलको पावरहाउस इङ्ग्ल्यान्डविरुद्ध तर हामी आफ्नो शतप्रतिशत दिएर फाइनलमा पुग्ने प्रयास गर्ने छौँ ।” उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाको सेमिफाइनलसम्मको यात्रा अपेक्षा गरेभन्दा कठिन नै भएको थियो । विशेषत नकआउट चरणमा अर्जेन्टिनाले तिनै खेल बल्लतल्ल जितेको हो । नवप्रवेशी केप भेर्डेलाई ३–२ ले हराउन अर्जेन्टिनालाई अतिरिक्त समयको आवश्यकता प¥यो । त्यसपछि प्रिक्वाटरफाइनलमा इजिप्टविरुद्ध अर्जेन्टिना अन्तिम ११ मिनेटसम्म दुई गोलले पछाडि थियो । अर्जेन्टिनाले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पनि अतिरिक्त समयमा ३–१ ले हराएको हो । स्विट्जरल्यान्ड एक खेलाडीको बेफाइदामा हुँदा पनि अर्जेन्टिनालाई सो खेलमा फाइदा पुगेको थियो ।

यसको विपरीत इङ्ग्ल्यान्ड भने सेमिफाइनलसम्मको यात्रामा प्रभावशाली देखिएको छ । थोमस टुचेलको टिमले सहआयोजक मेक्सिकोविरुद्धको अन्तिम १६ मा दस खेलाडीमा सीमित भएर पनि जित प्राप्त गरेको थियो । त्यसपछि इर्लिङ हालान्डको प्रेरणामा रहेको नर्वेलाई अतिरिक्त समयमा २–१ ले हराएको थियो ।

इङ्ग्ल्यान्डका लागि अहिले रियल म्याड्रिडका २३ वर्षीय मिडफिल्डर युड बलिङ्घम प्रेरणादायी खेलाडीका रूपमा प्रस्तुत हुनुभएको छ । उहाँले मेक्सिको र नर्वेविरुद्ध दुई÷दुई गोल गरेर इङ्ग्ल्यान्डको जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कप्तान हेरी केन आक्रमणको केन्द्रमा नै देखिनुभएको छ । इङ्ग्ल्यान्डले अहिलेसम्म गरेका १३ मध्ये १२ गोल यी दुईले गरेका छन् । एक गोल मार्कस् ¥यासफर्डको नाममा छ तर प्रशिक्षक टुचेल अर्जेन्टिनाविरुद्ध खेल जित्न व्यक्तिगत प्रदर्शनभन्दा एकजुट भएर खेल्नुपर्ने बताउनुहुन्छ । उहाँले नर्वेविरुद्धको खेलमा आफ्नो टिमको प्रदर्शनमा असन्तुष्टि प्रकट गर्नुभएको थियो ।

अर्जेन्टिनाको आशा भने पुनः मेसीमै छ । अहिलेसम्म क्वाटरफाइनलबाहेक अर्जेन्टिनाका लागि लियोनेल मेसीको ‘वन म्यान सो’ भइरहेको छ । मेसी आठ गोल र दुई एसिस्ट गरी गोल्डेन बुटको दाबेदारीमा फ्रान्सका स्ट्राइकर किलियन एम्बापेसँगै अग्रस्थानमा हुनुहुन्छ । केन र बेलिङ्घम (छ/छ गोल) लाई पनि यस होडबाट अलग्याउन मिल्दैन । मेसीले क्वाटरफाइनल स्विट्जरल्यान्डबाहेक यस विश्वकपका सबै खेलमा गोल गर्नुभएको छ तर इङ्ग्ल्यान्डको डिफेन्सले क्वाटरफाइनलमा नर्वेका इर्लिङ हालान्डलाई जस्तै मेसीलाई रोकेमा अर्जेन्टिनालाई खेल जित्न कठिन हुने पक्का छ ।

अर्जेन्टिनाको अवे जर्सी लगाउने इच्छा

अर्जेन्टिनाले इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा सेतो र निलो धर्का भएको परम्परागत जर्सी नभई अवे जर्सी लगाएर खेल्ने भएको छ । प्राविधिक रूपमा अर्जेन्टिनाले आफ्नो परम्परागत जर्सी लगाएर इङ्ग्ल्यान्डविरुद्ध खेल्नुपथ्र्यो तर उसले फिफासमक्ष अवे जर्सी लगाएर खेल्ने अनुरोध गरेको थियो । जुन अनुरोधलाई फिफाले मानेको हो । इङ्ग्ल्यान्डले आफ्नो परम्परागत सेतो जर्सी लगाएर नै खेल्ने छ । सन् १९६६ र २००२ मा भएको विश्वकपमा इङ्ग्ल्यान्डसँग पराजित हुँदा अर्जेन्टिनाले आफ्नो परम्परागत जर्सी लगाएको थियो । त्यसैले अर्जेन्टिनाले अब हुने सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध सो जर्सी लगाउन नचाहेको हो । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर