सेमिफाइनलको घमासान चार पूर्वविजेताहरूबिच हुने
काठमाडौं । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा पुग्नेमा साविक विजेता अर्जेन्टिनासँगै साविक उपविजेता फ्रान्स, इङ्ल्यान्ड र स्पेन रहेको छ । रोचक विषय यी चारवटै टोली फिफा वरीयताको पनि शीर्ष चारमा छन् । वरीयतामा अर्जेन्टिना पहिलो, स्पेन दोस्रो, फ्रान्स तेस्रो र इङ्ल्यान्ड चौथो स्थानमा छ ।
आइतबार बिहान भएको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले हराएर अन्तिम चारमा पुगेको हो । अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै आइतबार नै भएको अर्को खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सेमिफाइनलमा फ्रान्स र स्पेनबिच प्रतिस्पर्धा हुने छ ।
क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको थियो । यस्तै स्पेनले बेल्जियमलाई २–१ गोलले हराएको थियो । फ्रान्स र स्पेनबिच बुधबार राति तथा इङ्ल्यान्ड र अर्जेन्टिनाबिच बिहीबार राति प्रतिस्पर्धा हुने छ । सेमिफाइनल विजेताले साउन ४ गते न्युयोर्क न्यु जर्सीमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
सेमिफाइनलमा पुगेकामध्ये अर्जेन्टिना सर्वाधिक सफल टोली हो । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ गरी तीन पटक विश्वकप जितेको थियो । यस्तै फ्रान्सले सन् १९९८ र २०१८ को विश्वकप उपाधि चुमेको छ । इङ्गल्यान्ड सन् १९६६ र स्पेन २०१० मा विश्वकप च्याम्पियन बनेका देश हुन् ।
उपाधि चुम्ने आठ देश मात्र
फिफा विश्वकप फुटबल २२औँ संस्करणमा आइपुग्दा सहभागिताको हिसावले सर्वाधिक ४८ देश पुगेको छ । तर विश्वकपको उपाधि आठ देशले मात्र चुमेका छन् । दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप फुटबल भएन । विश्वकप उपाधि जित्नेमा ब्राजिल सबैभन्दा सफल टोली हो ।
ब्राजिलले पाँच पटक उपाधि चुमेको छ । ब्राजिलले सन् १९५८, सन् १९६२, १९७०, १९९४ र २००२ को उपाधि जितेको थियो । ब्राजिल २२औँ संस्करणसम्म सबै विश्वकप खेल्ने एक्लो टोली पनि हो ।
ब्राजिलको यात्रा यसपटक प्रिक्वार्टर फाइनलमै सकियो । प्रिक्वार्टर फाइनलमा ब्राजिल नर्वेसँग २–१ गोलले पराजित भएको थियो । ब्राजिलपछि जर्मनीले चार पटक विश्वकप चुमेको छ । सन् १९५४, १९७४, १९९० र २०१४ को विजेता जर्मनीको यात्रा यसपटक राउन्ड अफ ३२ मै सकियो ।
जर्मनी राउन्ड अफ ३२ मा पाराग्वेलेसँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएको थियो । यस्तै चार पटक विश्वकप जितेको इटाली यसपटक विश्वकपमा छनोट नै भएन । सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वे भने यसपटक समूह चरणबाटै घर फर्कियो ।
