आजको विजयसँगै अर्जेन्टिना इङल्यान्डसँग सेमिफाइनल खेल्दै
काठमाडौं । नेपाली समयानुसार आज आइतबार बिहान भएको विश्वकपको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई १ ३ ले हराएसँगै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै फिफा वरीयतामा माथि रहेका चार वटै टीम फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।
वरीयतामा पहिलो स्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, स्पेनले बेल्जियमलाई २–१ ले तथा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले नै पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।
आज भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टर र जुलियान अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे । अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टरले खेलको १० औँ मिनेटमा गोल गरे । लियोनल मेस्सीको पासमा उनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा स्विट्जरल्याण्डका ड्यान एन्डोएले गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा ल्याए ।
बायाँ विङबाट भित्र छिर्दै ६६ औँ मिनेटमा एमिलियानो मार्टिनेजको खुट्टाकोबीचबाट उनले बललाई जाली चुमाए । निर्धारित समयमा १-१ को बराबरी नतोडिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा जुलियान अल्भारेजले गोल गर्दै नतिजा २-१ मा पुर्याए । खेलको १२१ औँ मिनेटमा मार्टिनेजको गोलपछि स्थिति ३-१ मा पुग्यो । अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्ने छ।
