फिफाले के गर्दैछ इजिप्टको उजुरीमाथि ?

काठमाडौं । फिफा विश्वकपमा अर्जेन्टिना र इजिप्टबिच प्रिक्वार्टरफाइनल खेल जति रोमाञ्चक र सनसनीपूर्ण बन्यो । यसमा रेफ्रीको निर्णयलाई लिएर बिबाद पनि सुरु भएको छ । इजिप्ट फुटबल महासङ्घले अन्तिम १६ को खेलमा रेफ्री तथा भिएआरका टोलीले गरेको निर्णयमा छानबिन गर्न विश्व फुटबल महासङ्घ (फिफा) मा उजुरी दिएको छ । आगामी खेलमा उनै रेफ्रीलाई जिम्मेवारी नदिन माग पनि गरेको छ ।

इजिप्टले अर्जेन्टिनाविरुद्ध २–० गोलको सुरुवाती अग्रता बनाउँदा फ्रान्सेली रेफ्री फ्रान्स्वा लेटेक्सिएरले अन्याय गरेर अर्जेन्टिना र लियोनल मेस्सीको पक्षमा खेल जिताउन अग्रसर भएको इजिप्टले आरोप लगाएको छ । खेल सकिन ११ मिनेट बाँकी रहँदा इजिप्ट जितको नजिक थियो । तर अन्तिम १३ मिनेटभित्र तीन गोल गर्दै अर्जेन्टिनाले नाटकीय रुपमा नतिजा उल्ट्याउँदै इजिप्टको सपना चकनाचुर बनायो ।

इजिप्ट सुरुमा १–० गोलले अगाडि रहेको अवस्थामा मोस्तफा जिकोले गरेको अर्को उत्कृष्ट गोललाई रेफ्रीले भिएआरमार्फत खारेज गरिदिएका थिए । गोल हुनु अगाडि इजिप्टका मिडफिल्डर मारवान अतियाले अर्जेन्टिनाका डिफेन्डर लिसेन्द्रो मार्टिनेजलाई फल खेलेको भन्दै रेफ्रीले भारको सहायतामा गोल नदिएको इजिप्टको आरोप छ ।

यस्तै २–२ को बराबरी पछि डिबक्सभित्र इजिप्टका मोहम्मद सलाहलाई फल हान्दा रेफ्रीले पेनाल्टी नदिएको र सोही बलको काउन्टर प्रहारमा अर्जेन्टिनाले निर्णायक गोल गरेको इजिप्टको दाबी छ ।

खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले फिफा र रेफ्रीको निर्णयप्रति कडा आलोचना गर्नुभएको छ । ‘‘हामीमाथि रेफ्री र भिएआरको सहायतामा ठूलो अन्याय भयो । सायद रेफ्री लियोनल मेस्सी र साविक विजेता अर्जेन्टिनालाई टिकाई राख्न चाहन्थे । मैदानमा अर्जेन्टिनालाई हरेक तहमा समर्थन मिलेको पाइयो । यो एक प्रकारले पहिल्यै नतिजा तय भएको जस्तो देखियो । उस्तै फलमा एउटालाई भिएआरको प्रयोग गर्ने अर्कोलाई नगर्ने भन्ने हुन्छ ?’’ हसनले प्रश्न गर्नुभयो ।

खेलको अन्तिममा विवाद हुँदा रेफ्रीले प्रशिक्षक हसनलाई पहेँलो र ब्यवस्थापन टोलीका एक कर्मचारीलाई रातो कार्ड देखाउनुभएको थियो । सनसनीपूर्ण खेलमा अर्जेन्टिनाले ३–२ गोलको जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ । यस खेलको रोमाञ्चक नतिजाले विश्वकप फुटबलको माहोललाई थप तताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर