फ्रान्ससँग बदला लिने दाउमा मोरक्को

काठमाडौं ।  विश्वकपमा उपाधि दाबेदारीका लागि अब आठ टोली बाँकी छन् । विश्वकप सुरु हुनुअघिको फिफा वरीयतामा रहेका शीर्ष चार टिम क्वाटरफाइनलमा पुगेका छन् । यसै गरी शीर्ष १० मा रहका अन्य टिम पनि छन् ।

यी देशमध्ये फ्रान्सलाई सबभन्दा बढी २–१ को भाउ दिइएको छ । त्यसपछि बेटिङ रेटिङमा स्पेन र गत विजेता अर्जेन्टिना (७–२), इङ्ग्ल्यान्ड ९–२, नर्वे १४–१ तथा बेल्जियम, स्विट्जरल्यान्ड र मोरक्को २८–१ मा छन् ।

पहिलो क्वाटरफाइनल बिहीबार मध्यराति फ्रान्स र मोरक्कोबिच बोस्टन रङ्गशालामा हुने छ । फ्रान्सले समूह खेलमा प्रभुत्व जमाएको छ । प्रशिक्षक डिडियर डेस्च्याम्पका लागि मोरक्को यस विश्वकपमा पहिलो ठुलो परीक्षाभन्दा हुन्छ । सो खेल पछिल्लो संस्करणको सेमिफाइनलको पुनरावृत्ति पनि हो । कतारमा भएको विश्वकपमा फ्रान्सले मोरक्कोको ऐतिहासिक यात्रा अन्तिम चारमा समाप्त पारेको थियो । त्यसैले मोरक्को बदला लिने दाउमा पनि रहने छ । सो समय मोरक्कोको सो यात्रा आश्चर्यजनक थियो तर अहिले मोरक्कोलाई पनि यस विश्वकपमा हेभिवेट टिमका रूपमा लिइएको छ । मोरक्को यसपालि उपाधि जित्ने लक्ष्यसहित नै विश्वकपमा आएको हो ।

समूह चरणमा १० गोल गरेपछि फ्रान्सले अन्तिम ३२ मा स्विडेनलाई पनि ३–० ले हराएको थियो । त्यसपछि अन्तिम १६ मा पाराग्वेविरुद्धको सङ्घर्षपूर्ण १–० को जित प्राप्त ग¥यो । सो खेलमा केलियन एम्बापेले आफ्नो १९ औँ विश्वकप गोल गर्नुभयो । पछिल्लो संस्करणमा सेमिफाइनल खेलेको मोरक्को पनि सानदार लयमा रहेको छ । पहिलो खेलमै ब्राजिललाई दबाबमा राखेर बराबरीमा खेलेको मोरक्को अन्तिम ३२ मा नेदरल्यान्ड्सलाई टाइब्रेकर र त्यसपछि सहआयोजक क्यानडाको चुनौती ३–० ले समाप्त पारेर अन्तिम आठमा पुगेको हो ।

त्यसैले फ्रान्सलाई मोरक्कोविरुद्धको खेल सहज भने हुने छैन । मोहम्मद ओहबीको प्रशिक्षकत्वमा रहेको मोरक्कोले यस प्रतियोगितामा दबाब सहने मात्र होइन बल धेरै जसो आफ्नो खुट्टामा राख्ने तथा गति र सटिकताका साथ विपक्षीको डिफेन्स छिन्नभिन्न पार्न सक्ने क्षमता देखाएको छ । त्यसैले बिहीबार दुई स्तरीय आक्रामक टिमबिच रोमाञ्चक भिडन्त हुने सम्भावना रहेको छ ।

एम्बापे, ओसमान डेम्बेले, मइकल ओलिस र ब्राडली बार्कोलाका रूपमा फ्रान्ससँग यस विश्वपकपको सबभन्दा खतरनाक अग्रपङ्क्ति रहेको छ । २७ वर्षीय एम्बापे मोरक्कोविरुद्धको खेलमा गोल गरेर गोल्डेन बुटको दाबेदारीलाई बलियो बनाउने प्रयास गर्नुहुने छ । सात गोल गरेका एम्बापे सर्वाधिक गोलकर्ता लियोनेल मेसीभन्दा एक गोलले मात्र पछाडि हुनुहुन्छ । एम्बापेले विश्वकपको सर्वकालीन सर्वाधिक गोलकर्ता मेसीको २१ गोललाई पनि पछ्याउँदै हुनुहुन्छ । एम्बापेले विश्वकपमा १९ गोल गरिसक्नुभएको छ । फ्रान्सका लागि डेम्बेलेले पनि चार गोल र दुई एसिस्ट गर्नुभएको छ । उहाँले नर्वेविरुद्ध ह्याट्रिक गर्नुभएको थियो ।

यसबिच मोरक्कोको सङ्गठित खेल र आफूमाथिको विश्वासले फ्रान्सलाई पनि समस्यामा पार्न सक्छ । फिफा वरीयतामा छैटौँ स्थानमा रहेको मोरक्कोको टिममा पेरिस सेन्ट जर्मनलाई दुई पटक च्याम्पियन्स लिग जिताउने असरफ हकिमीसँगै रियल म्याड्रिडका मिडफिल्डर ब्राहिम डियाज, रियल म्याड्रिडका गोलरक्षक यासिन बोनोउ, म्यान्चेस्टर युनाइटेडका डिफेन्डर नोसर माजरावोई र युसुफ एन नेस्री जस्ता विश्वस्तरीय खेलाडी पनि छन् ।

क्वाटरफाइनलमा मोरक्कोको टिम प्रमुख स्ट्राइकर इस्माल साइबारीले खेल्ने सम्भावना निकै कम छ । नेदरल्यान्ड्सलाई हराउँदा नायक बनेका साइबारी दुरुस्त हुनुहुन्न । फ्रान्स पनि घाइते मिडफिल्डर अउरिलिन चोउमेनीबिना नै मैदानमा उत्रने देखिन्छ । अहिलेसम्म यी दुई टिमबिच पाँच पटक भिडन्त भएका छन् । जसमध्ये फ्रान्सले तीन खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर