अमेरिकालाई बेल्जियमको चुनौती
काठमाडौं । सन् २००२ पछि अमेरिका पहिलो पटक विश्वकप क्वाटरफाइनल पुग्ने अभियानमा छ । जस अन्तर्गत उसले सोमबार राति बेल्जियमसँग प्रिक्वाटरफाइनल खेल खेल्दै छ । सन् १९३० मा भएको पहिलो विश्वकपमा तेस्रो भएपछि अमेरिकाले अहिलेसम्म क्वाटरफाइनलमाथिको यात्रा गर्न सकेको छैन । सन् २००२ मा अमेरिकाले अन्तिम आठको खेल खेलेको थियो ।
यसपालि घरेलु मैदानमै खेल्न पाएकाले अमेरिकाले लामो यात्रा तय गर्ने अपेक्षा गरिएको छ । घरेलु मैदानको ऊर्जा र घरेलु दर्शकको समर्थनमा अमेरिका सदृढ देखिएको छ । अमेरिकाले अहिलेसम्म चालु विश्वकपमा प्रभावशाली खेल पनि देखाएको छ । समूह चरणमा पाराग्वे र अस्ट्रेलिया तथा अन्तिम ३२ मा बोस्निया हर्जगोभिनाविरुद्धको जितपछि अमेरिकी टिममा जुनसुकै टिमलाई पनि हराउन सक्ने सामथ्र्य देखिएको हो । बोस्नियाविरुद्धको खेलमा अन्तिम ३६ मिनेट आफ्ना प्रमुख खेलाडीबिना खेलेर पनि अमेरिकाले सहज जित प्राप्त गरेको थियो । जसले माउरिसियो पोचिटिनोको टिममाथि विश्वास बढेको हो ।
तर बेल्जियम युरोपको सर्वाधिक अनुभवी टिममध्ये एक हो । बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ को पुस्ता आफ्नो अन्तिम विश्वकप खेल्दै छ । बेल्जियम पछिल्ला दुई संस्करणमा उपाधि दाबेदारमध्ये एक हुँदा पनि च्याम्पियन बन्न सकेको थिएन । यस पटक पहिले जस्तो भाउ नपाएको बेल्जियमको प्रदर्शन पनि पहिलेको जस्तो छैन । बेल्जियमले सेनेगलविरुद्धको खेलमा नाटकीय जितपछि मात्र अमेरिकासँगको भेट पक्का गरेको हो । सो खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदासम्म बेल्जियम २–० ले पछाडि थियो । त्यसपछि तीन गोल गरेर यस विश्वकपकै अहिलेसम्मको उत्कृष्ट पुनरागमनसहित बेल्जियम प्रिक्वाटरफाइनलमा पुग्यो । बेल्जियम पछिल्ला चार संस्करणमा तेस्रो पटक प्रिक्वाटरफाइनलमा पुगेको हो । सन् २०१४ मा क्वाटरफाइनल खेलेको बेल्जियम सन् २०१८ मा तेस्रो भएको थियो । गत संस्करणमा भने बेल्जियम समूह चरणबाटै बहिरिएको थियो । सुनौलो पुस्ताका जान भर्टोङगन, थोमस भर्माइलन, इडेन हजार्ड र ड्राइज मार्टेन्स अहिले टिममा हुनुहुन्न तर दुई संस्करणअघि तेस्रो भएको बेल्जियमको सुनौलो पुस्ताको अन्य सबै खेलाडी अझ पनि टिममा छन् । गोलरक्षक थिबाउट कोउर्टियस, मिडफिल्डर केभिन डी ब्रुयन र स्ट्राइकर रोमलु लुकाकु यसपालि पनि आफ्नो देशलाई विश्वकपको लामो यात्रा गराउने प्रयास गर्दै हुनुहुन्छ ।
अमेरिकाले आक्रमणमा निकै प्रभावित पारेको छ तर अमेरिकाको डिफेन्समा केही प्रश्नचिह्न छ । जुन कमजोरीलाई बोस्नियाविरुद्धका खेलमा अमेरिकाले धेरै हदसम्म सुधारिसकेको छ । बेल्जियमविरुद्ध खेल्दा अमेरिका बदला लिने दाउमा पनि हुने छ । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा बेल्जियमले अमेरिकालाई अन्तिम १६ मै हराएको थियो । अमेरिकाका गोलरक्षक टिम होवार्डका कारण सो खेललाई अहिलेसम्म पनि सम्झना गरिन्छ । त्यसबेला होवार्डले बेल्जियमका १६ प्रहारलाई विफल पार्नुभएको थियो ।
अमेरिकाका प्रमुख स्ट्राइकर फोलारिन बालोगुन प्रतिबन्धमा पर्नु अमेरिकाका लागि घातक हुन सक्छ । बोस्नियाविरुद्ध पूर्वार्धमा गोल गर्ने बालोगुन उत्तरार्धमा रातो कार्डको कारबाहीमा पर्नुभएको थियो । यी दुई टिमबिचको विगत हेर्ने हो भने बेल्जियमको पल्ला भारी देखिन्छ । अहिलेसम्म यी दुई टिमबिच भएका सात खेलमध्ये बेल्जियमले छ खेलमा जित हात पारेको छ । अमेरिकाले बेल्जियमविरुद्ध प्राप्त एक मात्र जित सन् १९३० मा आएको थियो । पछिल्लो पटक चार महिनाअघि यी दुई टिम भिड्दा बेल्जियमले अमेरिकालाई ५–२ ले सजिलै हराएको थियो ।
