ब्राजिललाई २–१ गोलले हराउँदै नर्वे क्वार्टरफाइनलमा

काठमाडौं ।  इर्लिङ हालान्डको दुई गोलमा नर्वेले सोमबार ब्राजिललाई २–१ गोलले पराजित गर्दै क्वा र्टरफाइनलमा प्रवेश गरेको छ । खेलको अन्तिमतिर हालान्डले २ गोल गरेका थिए भने नर्वेका गोलरक्षक ओर्जान निलान्डले उत्कृष्ट बचाउहरु गरेका थिए ।

नर्वे पहिलो पटक विश्वकपको क्वा र्टरफाइनल पुगेको हो । हारपछि सन् २००२ यता पहिलो पटक विश्वकप उपाधि जित्ने ब्राजिलको सपना यसपटक पनि अधुरो नै रह्यो । ब्राजिलले कीर्तिमानयुक्त ५ पटक विश्वकप जितेको छ ।

दोस्रो हाफमा मैदानमा प्रवेश गरेका एन्ड्रेज स्जेल्डेरुपको पासमा हालान्डले दुवै गोल गरेका थिए । उनले ७९ औं मिनेटमा शक्तिशाली हेडमा गोलको खाता खोलेका थिए भने ९० औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

योसँगै हालान्डले प्रतियोगितामा आफ्नो गोल संख्या ७ पुर्‍याएका छन् र सर्वाधिक गोल गरेर गोल्डेन बुट पाउने सूचीमा अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एमबाप्पेसँगै रहेका छन् ।

इन्जुरी टाइमको दसौं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका नेयमारले पेनाल्टीमा गोल गरेका थिए, जुन ब्राजिलका लागि सान्त्वना मात्र बन्न सक्यो । पहिलो हाफमै ब्रुनो गुमिरेजको पेनाल्टी नर्वेका गोलरक्षक निलान्डले बचाउ गरेका थिए । ब्राजिललाई यो नै दुर्भाग्य बन्यो ।

नर्वेले न्युयोर्कको न्यु जर्सी रंगशालामा अन्तिम १६ को खेलमा विजय हात पारेसँगै क्वार्टरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोबीचको विजेतासँग मायामीमा खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर