एमाले धक्का खाँदै अगाडि बढिरहेको ओलीको भनाइ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अहिले अप्ठेरो परिस्थितिमा रहेको बताउँदै त्यसबाट उठेर प्रतिवाद र प्रतिरोध गर्ने प्रतिज्ञा गरेका छन् ।
पार्टी कार्यालय ललितपुरमा शनिबार पार्टी जागरण अभियानको शुरूआत गर्दै ओलीले अहिले आफ्नो पार्टीमाथि योजनाबद्ध रूपमा आक्रमण र कुप्रचार भइरहेको दाबी गरे । तर, आक्रमणविरुद्ध धक्काहरू सहँदै उद्देश्यतर्फ अगाडि बढिरहेको ओलीको भनाइ छ ।
‘हामी यतिबेला कठिनाइमा छौं । कठिनाइ भनेको जीवनमा आइपर्ने चिज हो । निर्जीव तत्वलाई कहिल्यै कठिनाइ पर्दैन,’ ओलीले भने, ‘हाम्रो पार्टीलाई कठिनाइ आएको छ भनेको हामी जीवित छौं । हामीले धक्का खाएका छौं । हामी पछारिएका हौंला, तर हामी जीवित छौं । हामी उठ्छौं । हामी प्रतिवाद गर्छौं । हामी प्रतिरोध पनि गर्छौं ।’
ओलीले एमालेले समय–समयमा ठूला धक्का र असफलता भोग्दै आएको उल्लेख गर्दै ती सबैलाई पार गर्दै अघि बढेको सुनाए । उनले नदीको उदाहरण दिँदै अवरोधहरू छिचोल्दै लक्ष्यतर्फ अघि बढ्नु नै संघर्षको विशेषता भएको बताए ।
‘एउटा नदी अगाडि बढ्न पर्यो भने त्यसले कहिले यताको भित्तामा ठोकिँदै, कहिले उताको कुममा ठोकिँदै अगाडि बढ्नुपर्छ । सधैं सोझो बाटोमा बिना व्यवधान नदी पनि हिँड्न पाउँदैन । हामीलाई रोक्न अनेक व्यवधान आएका हुन्छन्, तर तिनीहरूलाई छिचोल्दै अघि बढ्छौं,’ ओलीले भने । ओलीले अहिले पार्टीविरुद्ध कुप्रचार भइरहेको पनि आरोप लगाए । उनले वर्तमान अवस्था पार्टीका नेता–कार्यकर्ताका लागि परीक्षा जस्तै भएको उल्लेख गर्दै हिम्मत र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे ।
ओलीले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार चटकका भरमा आएको आरोप लगाए । उनले यो सरकार चटकका भरमा आएको र चटककै भरमा जाने टिप्पणीसमेत गरे ।
