अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इजिप्ट अन्तिम १६ मा
काठमाडौं । इजिप्ट विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । इजिप्टले शुक्रबार राति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्यो ।
अस्ट्रेलियाका ह्यारी साउटरले खेलको पहिलो पेनाल्टी नै बाहिर हान्न पुगेका थिए । त्यस्तै, लुकास हेरिङटनको चौथो पेनाल्टी प्रहार पोस्टमा लागेर बाहिरिएपछि अस्ट्रेलियाले हार स्विकार्नु पर्यो ।
इजिप्टबाट कप्तान मोहम्मद सलाहसहित सबै चार खेलाडीले गोल गरेका थिए । यसअघि निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेलमा जित हारको नतिजा निस्किएको थिएन । इमाम अशोरले १३ औं मिनेटमा गोल गरी इजिप्टलाई अग्रता दिलाएका थिए । उनले करिम हाफेजको क्रसमा हेडबाट गोल गरेका थिए ।
मध्यान्तरपछिको १० औं मिनेटमा अस्ट्रेलियाले खेल बराबरीमा ल्याएको थियो । अस्ट्रेलियाका खेलाडीले गरेको फ्रिकिक प्रहारलाई इजिप्टका मोहम्मद हानीले हेडमा आफ्नै पोस्टमा दिशा दिन पुगेपछि खेल १–१ को बराबरीमा आएको थियो । यी दुवै टोली विश्वकप इतिहासको नकआउट चरणमा आफ्नो पहिलो जित खोजिरहेका थिए ।
