आज पोर्चुगलले दर्शकको आलोचना सहनु पर्ला कि नपर्ला ?
काठमाडौं । पोर्चुगल र उसका प्रमुख खेलाडीसमक्ष बिहीबार क्रोएसियाविरुद्धको नकआउट खेल खेल्दा विश्वकप फुटबलमा आफ्नो प्रदर्शनलाई लिएर आलोचना गर्नेलाई चुप पार्ने अवसर छ । यद्यपि पोर्चुगलले अन्तिम ३२ मै कडा विपक्षी पाएको छ । क्रोएसिया विश्वकप जस्ता ठुलो मञ्चमा अपेक्षा गरेको भन्दा राम्रो प्रदर्शन गर्ने टिम हो । सो खेलमा ४१ वर्षीय रोनाल्डो र क्रोएसियाका ४० वर्षीय मिडफिल्डर लुका मोड्रिच केन्द्रमा रहनुहुने छ । यी दुवै सुपरस्टार खेलाडी सम्भवतः आआफ्नो अन्तिम विश्वकप खेल्दै छन् र दुवैमा आफ्नो अन्तिम विश्वकपलाई विशेष बनाउने हुटहुटी पनि छ ।
पोर्चुगलका प्रशिक्षक रोवर्ट मार्टिनेज पनि आलोचित हुनुहुन्छ । पोर्चुगलको टिममा विश्वस्तरीय खेलाडीको बाहुल्य छ । यद्यपि मार्टिनेजले उनीहरूको उचित सदुपयोग गर्न सक्नुभएको छैन । यस विश्वकपको पहिलो खेलमा कङ्गोसँग १–१ को निरस बराबरीमा खेलेपछि पोर्चुगलले नवप्रवेशी उज्बेकिस्तानलाई ५–० ले हराएर सानदार पुनरागमन गरेको थियो । सो खेलमा रोनाल्डोले दुई गोल गर्नुभयो । यी गोलले रोनाल्डो पोर्चुगलका लागि विश्वकप फुटबलमा सर्वाधिक गोलकर्ता पनि बन्नुभयो तर समूह चरणमा अन्तिम खेलमा पोर्चुगलले पुनः अपेक्षाकृत खेल देखाएन । कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएपछि पोचुर्गलले समूह उपविजेतामा चित्त बुझाएको थियो ।
क्रोएसिया पनि यस विश्वकपमा सुस्त सुरुवातसहित अगाडि बढेको हो । यद्यपि क्रोएसियाको छवि खेलपिच्छे राम्रो गर्ने टिमको छ । सन् २०२२ को विश्वकपमा पनि प्रभावशाली सुरुवात नगरे पनि क्रोएसियाले तेस्रो स्थान हासिल गरेको थियो । सो संस्करणमा क्रोएसियाले समूह चरणमा दुई गोलरहित बराबरीमा खेलेको थियो । यसपालि पनि क्रोएसिया पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४–२ ले हा¥यो । त्यसपछि दोस्रो खेलमा पनामाविरुद्ध १–० को जित पनि विश्वसनीय थिएन । त्यसपछि समूह चरणबाटै बाहिरिने डरबिच घानाविरुद्ध सुधारात्मक खेल देखाएर क्रोएसियाले २–१ ले जित प्राप्त गरेको हो । सो खेलमा पूर्व बालन डी ओर विजेता मोड्रिचले प्रेरणादायी खेल देखाउनुभएको थियो । मोड्रिचको घुमाउरो कर्नरमा निकोला भ्लासिचले निर्णायक गोल गर्नुभएको थियो । भ्लासिचले पोर्चुगल विश्वस्तरीय खेलाडीको जमात भएको उत्कृष्ट टिम हो, भन्नुभयो । “हामीले उनीहरूको खेलबारे अध्ययन गरेका छौँ र सोही अनुसार तयारी पनि छ,” उहाँको भनाइ छ ।
यी दुई टिमबिचको अहिलेसम्मको भिडन्त पोर्चुगल निकै अगाडि छ । विगतमा यी दुई टिमले एकअर्कासँग कुल दस खेल खेल्दा पोर्चुगलले सात र क्रोएसियाले एक खेल जितेको छ । दुई खेल बराबरीमा सकिएको थियो ।
स्पेनको अगाडि अस्ट्रिया
३४ अन्तर्राष्ट्रिय खेलमा अपराजित स्पेनले बिहीबार विश्वकप फुटबल २०२६ को अन्तिम ३२ मा अस्ट्रियाविरुद्ध खेल्दै छ । युरो च्याम्पियन स्पेन आफ्नो अपराजित यात्रालाई लम्ब्याएर सन् २०१० पछि पहिलो पटक पुनः विश्व च्याम्पियन बन्ने अभियानमा रहेको छ । यस विश्वकपमा स्पेनले अहिलेसम्म गोल बेहोरेको छैन । केप भेर्डेसँगको गोलरहित बराबरीमा आलेचित बनेको स्पेनले त्यसपछि सउदी अरबलाई ४–० र उरुग्वेलाई १–० ले हराएर आफ्नो पुरानै लय फर्काइसकेको छ । त्यसैले ४४ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको अस्ट्रियाले स्पेनलाई हराउन असाधारण खेल खेल्नुपर्ने हुन्छ । अस्ट्रिया समूह ‘जे’ बाट उपविजेता बनेर नकआउटमा पुगेको हो ।
प्रतियोगिताअघि प्रतिभाशाली तेज गतिका दुई विन्गरहरू लामिने यमाल र निको विलियम्स पूर्ण रूपमा फिट नहुँदा स्पेनका प्रशिक्षक लुइस डेल फुयन्टेलाई टिम निर्माणमा केही कठिनाइ भएको थियो । यमाल अहिले चोटमुक्त भइसक्नुभएको छ तर विलियम्सका साथै येरेमी पिनो अहिले पनि चोटको समस्यामा हुनुहुन्छ । मार्सेलो बिएस्लाको टिम उरुग्वेविरुद्ध खेल्दा यी दुई घाइते हुनुभएको हो । अस्ट्रियाले पनि प्राविधिकभन्दा शारीरिक खेल खेलेर स्पेनलाई स्वाभाविक खेल खेल्न नदिने अनुमान गरिएको छ । अस्ट्रिया समूह चरणको अन्तिम खेलमा अल्जेरियाविरुद्ध ९६ औँ मिनेटमा बराबरी गोल गरेर बल्लतल्ल नकआउटमा पुगेको हो । स्ट्राइकर सासा कालाडिचको हेड गोलले विश्वकपबाट बिदा हुन लागेको अस्ट्रियालाई समूह उपविजेता बनाएको थियो ।
स्विट्जरल्यान्ड पाँचौँ पटक अन्तिम १६ खेल्ने दाउमा
स्विट्जरल्यान्डका लागि विश्वकप फुटबलको अन्तिम १६ मा पुग्नु बानी जस्तै भएको छ । स्विट्जरल्यान्डले बिहीबार अल्जेरियालाई हराएर पुनः विश्वकपको प्रिक्वाटरफाइनमा पुग्ने प्रयास गर्ने छ । अल्जेरिया भने पहिलो पटक विश्वकपको नकआउटमा जित हासिल गर्ने प्रयास गर्ने छ ।
लगातार छैटौँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड चार पटक नकआउटमा पुगे पनि अन्तिम १६ भन्दा माथि उठ्न सकेको छैन । सन् २००६, २०१४, २०१८ र २०२२ मा स्विट्जरल्यान्ड अन्तिम १६ बाट बिदा भएको थियो । सन् २०१० मा भने स्विट्जरल्यान्डको चुनौती समूह चरणमै समाप्त भएको थियो ।
युरो २०२४ मा प्रभावशाली प्रदर्शन गरेको स्विट्जरल्यान्ड यसपालि पनि बलियो देखिएको छ । अनुभवी खेलाडी र उदीयमान प्रतिभाको साथमा स्विट्जरल्यान्डले यसपालि लामो यात्रा तय गर्ने लक्ष्य राखेको छ । म्यान्चेस्टर सिटीका म्यानुअल अकान्जी र अनुभवी ग्रानिट जाका स्विट्जरल्यान्डका प्रेरणादायी खेलाडी हुनुहुन्छ । सन् २०१४ पछि विश्वकपमा फर्केका अल्जेरिया समूह चरणको अन्तिम खेलमा अस्ट्रियासँग ३–३ ले बराबरीमा खेलेर नाटकीय रूपमा नकआउटमा पुगेको हो । अल्जेरिया र अस्ट्रियाबिचको खेल यस विश्वकपकै रोमाञ्चकारी खेलमध्ये एक मानिएको छ । सन् २०१४ मा पनि अल्जेरिया नकआउटमा पुगेको थियो । सो समय च्याम्पियन बनेको जर्मनीसँग अल्जेरिया पराजित भएको थियो । अहिले ३५ वर्षीय कप्तान रियाड महराजको साथमा अल्जेरियाले विश्वकपमा पहिलो नकआउट जितको सपना देख्दै छ । महराजले अस्ट्रियाविरुद्धको गर या मरको खेलमा दुई गोल गर्नुभएको थियो ।
