के इङ्ल्यान्डले कङ्गोलाई जित्न सजिलो होला ?

काठमाडौं ।  विश्वकप फुटबल २०२६ को उपाधि दाबेदारमध्ये एक इङ्ल्यान्ड समूह चरणमा कम जोखिम बेहोरेरै अन्तिम ३२ मा पुगेको छ । यद्यपि अब नकआउटको पहिलो खेलमा कङ्गोसँग खेल्दा इङ्ल्यान्डसमक्ष ढुक्क भएर खेल्ने अवस्था छैन । कङ्गोले अहिले नै अपेक्षा गरेभन्दा लामो यात्रा गरिसकेको छ । अब कङ्गोलाई गुमाउनु केही छैन । त्यसैले कङ्गोले इङ्ल्यान्डविरुद्ध बिनादबाबमा खेल्ने पक्का छ । यसअघि सन् १९७४ मा जायरको नाममा विश्वकप खेल्दा कङ्गोले समूह चरणमा तीन खेल गुमाएको थियो । सो समय तीन खेलमा उसले बिनागोल गरी १४ गोल बेहोरेको थियो ।

समूह ‘एल’ विजेता बनेको इङ्ग्ल्यान्डले क्षमता अनुसार भने प्रदर्शन गर्न सकेको छैन । क्रोएसियालाई ४–२ ले हराएको खेलमा अपेक्षा अनुसार खेलेको इङ्ल्यान्ड दोस्रो खेलमा घानासँग निरस गोलरहित बराबरीमा रोकिएको थियो । त्यसपछि २–० ले जितेको समूह चरणको अन्तिम खेलमा पनि इङ्ल्यान्डलाई पनामाले एक घण्टाभन्दा बढी समय रोकेको थियो । इङ्ल्यान्डका हेरी केन र युड बेलिङघमको प्रदर्शन अपेक्षाकृत नै छ तर अब इङ्ल्यान्डका अन्य स्टार खेलाडीले पनि खेल जिताउने जिम्मेवारी लिनुपर्ने देखिन्छ ।

कङ्गो आठ उत्कृष्ट तेस्रो हुने टिममध्ये नम्बर १ मा रहेर नकआउटमा पुगेको हो । पहिलो खेलमै पोर्चुगललाई १–१ ले बराबरीमा रोकेर सबैको नजरमा परेको कङ्गो त्यसपछि कोलम्बियासँग १–० ले हारेको थियो तर कङ्गोले जित्नै पर्ने समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानलाई ३–१ ले हराएर आफ्नो सम्भावना कायम राखेको हो । उज्बेकिस्तानविरुद्ध आक्रामक रणनीति अपनाएको थियो तर इङ्ल्यान्डविरुद्ध कङ्गो पुनः रक्षा पङ्क्तिमा पाँच खेलाडीसहित खेल्ने पक्का छ । कङ्गोले पोर्चुगल र कोलम्बियाविरुद्ध सोही रणनीतिमा खेलेको थियो ।

इङ्ल्यान्डको समस्या अहिले ‘राइट ब्याक’ मा रहेको छ । सो स्थानमा राइसलाई सहयोग गर्ने खेलाडीको कमी छ । रिस जेम्सले चोटका कारण पनामाविरुद्ध खेल्न सक्नुभएन । उहाँको सट्टामा राइट ब्याकमा खेलेको जेरेल क्वान्साले पनि गोलीगाँठोमा चोट बोक्नुभएको छ । कङ्गोविरुद्ध सो स्थान जेड स्पेन्सले लिने सम्भावना छ । सोही स्थानमा सहयोग गर्न मिडफिल्डर डेक्लान राइस हुनुहुने छ । कङ्गो र इङ्ल्यान्डबिचको खेलको विजेताले अन्तिम १६ मा सहआयोजक मेक्सिको अथवा इक्वेडरमध्ये एकसँग खेल्ने छ ।

अनुभवी बेल्जियमको अगाडि सेनेगल

बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ को पुस्ता आफ्नो अन्तिम विश्वकप खेल्दै छ । पछिल्ला दुई संस्करणमा उपाधि दाबेदारमध्ये एक हुँदा पनि च्याम्पियन बन्न नसकेको बेल्जियमलाई यस पटक भने पहिले जस्तो भाउ दिइएको छैन । यद्यपि बेल्जियम धेरैले अपेक्षा नगरेका बेला ठुलो सफलता प्राप्त गर्ने अभियानमा छ । जस अन्तर्गत नकआउटमा पुगिसकेको बेल्जियमले अन्तिम २८ मा बुधबार सेनेगलसँग खेल्ने छ ।

जान भर्टोङ्गन, थोमस भर्माइलन, इडेन हजार्ड र ड्राइज मार्टेन्स अहिले टिममा हुनुहुन्न तर सन् २०१८ मा तेस्रो भएको बेल्जियमको सुनौलो पुस्ताका अन्य सबै खेलाडी अझ पनि टिममा छन् । यसले बेल्जियम एक अनुभवी टिम हो भन्ने साबित गर्छ । गोलरक्षक थिबाउट कोउर्टियस, मिडफिल्डर केभिन डी ब्रुयन र स्ट्राइकर रोमलु लुकाकु यसपालि पनि आफ्नो देशलाई विश्वकपको लामो यात्रा गराउने प्रयास गर्दै हुनुहुन्छ ।

इजिप्टलाई गोलअन्तरले मात्र पछाडि पारेर बेल्जियम समूह ‘जी’ विजेता बनेको हो । समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डलाई ५–१ को फराकिलो अन्तरले हराएकाले बेल्जियम अहिले उच्च मनोबलमा छ । सो लय नकआउटमा पनि कायम राख्ने बेल्जियमको आशा छ । समूह चरणमा बेल्जियम विपक्षीको गोलपोस्टमा सबभन्दा बढी प्रहार (७३) गर्ने टिम हो ।

बेल्जियमका मिडफिल्डर अमाडोऊ ओनानाका लागि सेनेगलविरुद्धको खेल विशेष हुने छ । उहाँ सेनेगलमै जन्मिनुभएको हो । सेनेगलले समूह चरणमा सुरुका दुई खेलमा फ्रान्स र नर्वेसँग हारे पनि अन्तिम खेलमा इराकलाई ५–० ले हराएर बल्लतल्ल नकआउटमा स्थान बनाएको हो ।

अमेरिकाले बोस्निया हर्जगोभिनालाई कमजोर नठान्ने

सहआयोजक अमेरिका यस विश्वकपमा निकै आत्मविश्वासी देखिएको छ । समूह चरणमा सुरुका दुई खेल सहजै जिते पनि अन्तिम खेलमा टर्कीसँग इन्जुरी समयमा गोल बेहोरेर हारेको अमेरिकालाई घरेलु मैदानमा लामो यात्रा तय गर्ने टिमका रूपमा लिइएको छ । अन्तिम ३२ मा बोस्निया­–हर्जगोभिनासँग खेल्दा अमेरिकालाई दाबेदार मानिएको छ ।

अमेरिकाका कप्तान टिम रियमले भने बोस्नियालाई हलुका रूपमा नलिने बताउनुभयो । विश्वकप छनोटमा चार पटकको विजेता इटालीलाई बिदा गरेको टिमलाई कमजोर ठान्न नहुने रियमको भनाइ छ । स्विट्जरल्यान्ड र क्यानडापछि रहेर बोस्निया–हर्जगोभिना समूह तेस्रो भई नकआउटमा पुगेको हो । बोस्निया–हर्जगोभिनाले अहिलेसम्म प्रतियोगितामा डिफेन्सिभ रणनीति अपनाएको छ तर अमेरिकी कप्तान रियमले आफ्नो टिम बोस्नियाले डिफेन्सिभ खेल्छ भन्ने सोचाइमा मैदान छिर्दा अनपेक्षित पनि हुन सक्ने भएकाले सबै पक्षलाई ध्यान दिएको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर