प्रचण्डको अन्तिम क्रम भंगको खेल सुरु हुने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा आफ्नो अन्तिम क्रम भंगको खेल सुरुहसन लागेको बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘प्रचण्डको अन्तिम क्रम भंग हेर्नुस् अब कस्तो हुन्छ।’
उनले एमालेसँग तत्कालै एकताको तयारी भएको पनि बताए। उनले सबै वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपासमेतसँग कुरा भइरहेको बताए ।
महाधिवेशनमा अर्को क्रमभङ्ग हुनेसमेत उनले बताए । अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए । एमालेभित्र नेतृत्व परिवर्तनको आवाज मुखरित भएको अवस्थामा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अघि सारेर प्रचण्ड र माधव नेपालसँग एकताको प्रयास गरिरहेको अहिले राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
आइतबार ओली, प्रचण्ड र माधव एउटै मञ्चमा देखिने
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा पर्सि आइतबार आयोजना हुन लागेको विचार गोष्ठीमा सत्तापक्ष र विपक्षका शीर्ष नेताहरू एकैसाथ उपस्थित हुने भएका हुन् ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी आयोजना गर्ने भएको छ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने भएकी छन् ।
वक्ताका रूपमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने छन् ।
