प्रचण्ड, शेखर र नेपालबिच भेटवार्ता
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विराटनगरस्थित कोइराला निवासमा शुक्रबार भेटवार्ता गरेका छन् ।
झन्डै ४५ मिनेट चलेको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन, कांग्रेसको वर्तमान अवस्था र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ। भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले समसामयिक राजनीतिक मुद्दाहरूमा केन्द्रित रहेर कुराकानी भएको बताए। ‘धेरै लामो कुराकानी त भएन, तर समसामयिक राजनीति र विशेषगरी रास्वपाको महाधिवेशनलाई कसरी हेर्ने भन्नेबारे केही छलफल भयो’, प्रचण्डले भने।
उनले कांग्रेसको पछिल्लो अवस्थाबारे पनि चासो व्यक्त गरेको जानकारी दिए। त्यसैगरी, नेकपा सह–संयोजक नेपालले पनि यो भेटलाई सामान्य राजनीतिक संवादको रूपमा अर्थ्याए।
