जापान, स्वीडेन, नेदरल्यान्ड्स, आइभरी कोस्ट र इक्वेडर नकआउटमा

काठमाडौं ।  विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न समूह चरणका खेलपछि जापान, स्वीडेन, नेदरल्यान्ड्स, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। समूह ‘एफ’ अन्तर्गत अमेरिकाको डालास स्टेडियममा भएको खेलमा जापान र स्वीडेनले १–१ गोलको बराबरी खेले।

स्वीडेनले ४ अंक जोड्दै उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो। यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई ३–१ गोलअन्तरले पराजित गर्दै ७ अंकसहित समूह विजेता बन्यो।

खेलको तेस्रो मिनेटमै ट्युनिसियाका इलएस सखिरीको आत्मघाती गोलबाट अग्रता लिएको नेदरल्यान्ड्सले त्यसलाई जितमा परिणत गर्‍यो। ट्युनिसिया भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। अब नेदरल्यान्ड्सले नकआउट चरणमा समूह ‘सी’ को उपविजेता मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ई’ अन्तर्गत आइभरी कोस्टले कुरासाओलाई २–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ।

आइभरी कोस्टका लागि निकोलस पेपेले सातौँ र ६४औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाए। यस्तै, न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको अर्को रोमाञ्चक खेलमा इक्वेडरले उपाधि दाबेदार जर्मनीलाई २–१ ले पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ। जर्मनीविरुद्धको ऐतिहासिक जितसँगै इक्वेडरले प्रतियोगितामा आफ्नो चुनौतीलाई थप बलियो बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर