क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलको आलोचना
काठमाडौं । विश्वकप फुटबल २०२६ को पहिलो खेलमा कङ्गोसँग १–१ ले बराबरीमा रोकिएपछि क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलको आलोचना भयो । पोर्चुगलले कङ्गोविरुद्धको खेलमा चालु विश्वकपमै अहिलेसम्मको सबभन्दा बढी बल नियन्त्रणमा राखेको थियो । उसले ७८३ पास खेलेको थियो । यद्यपि पोर्चुगलले कङ्गोको गोलपोस्टमा सात प्रहार ग¥यो । जसमध्ये एउटा प्रहारमार्फत गोलपोस्ट लक्षित थियो । सो प्रहारमा पोर्चुगलले गोल पनि प्राप्त गरेको थियो । जसले यस विश्वकपमा दाबेदारमध्ये एकको हैसियतमा खेलिरहेको पोर्चुगलको आक्रमण क्षमतामै प्रश्न उठेको छ । सिर्जनात्मक खेल, निर्णय लिनुपर्ने र फिनिसिङ आवश्यक फाइनल थर्डमा पोर्चुगल कमजोर देखियो । स्पेनले केप भेर्डेसँगको गोलरहित बराबरीमा पनि विपक्षीको गोलपोस्टमा २७ प्रहार गरेको थियो ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेल प्रभावित पार्न सक्नुभएन । अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता रोनाल्डो टिमकै बोझ भइरहेको छ भन्नेहरू पनि देखिए । पोर्चुगलका प्रशिक्षक रोवर्ट मार्टिनेजले उज्बेकिस्तानविरुद्ध गोलको वर्षा गर्दै आफ्नो टिमले आलोचकलाई चुप पार्ने अपेक्षा गर्नुभएको छ । नवप्रवेशी उज्बेकिस्तानले पहिलो खेल कोलम्बियासँग ३–१ ले हारेको थियो । त्यसैले पनि पोर्चुगललाई यस विश्वकपमा सानदार पुनरागमन गर्ने अवसर छ । उज्बेकिस्तान लगातार दोस्रो हारपछि नकआउटको चरणबाट बाहिरिने छ । त्यसैले विश्वकपमा आफ्नो पहिलो खेलमा ‘नर्भस’ देखिएको उज्बेकिस्तानले पोर्चुगलविरुद्ध शतप्रतिशत दिएर खेल्ने पक्का छ । पोर्चुगलले पछिल्ला दुई खेलमा एसियाली राष्ट्रलाई हराउन सकेको छैन । जुन उज्बेकिस्तानका लागि मनोबल उच्च पर्ने पक्ष हुन सक्छ ।
सोही समूह अन्तर्गत मङ्गलबार कोलम्बिया र कङ्गोबिच पनि खेल हुँदै छ । कोलम्बियाले आफ्नो विजयी सुरुवातलाई कायम राख्ने प्रयास गर्ने छ तर पोर्चुगललाई १–१ ले बराबरीमा रोकेकै कारण नेस्टर लोरेन्जोको टिम कोलम्बिया कङ्गोसँग सतर्क पनि छ । कङ्गोविरुद्धको जितले कोलम्बियाको नकआउट स्थान पक्का गर्ने छ । सोही राति पोर्चुगलले उज्बेकिस्तानलाई हराउन नसकेमा कोलम्बिया समूह विजेता नै बन्ने छ । उज्बेकिस्तनसँगको खेलमा पुनः बायर्न म्युनिखका फरवार्ड लुइस डियाजमा सबैका ध्यानकेन्द्रित हुने छ । उहाँ पछिल्लो खेलमा एक गोल र एक एसिस्ट गरेर प्लेअर अफ दी म्याच बन्नुभएको थियो ।
उपाधि दाबेदार पोर्चुगलविरुद्धको सानदार प्रदर्शनपछि कङ्गोले पनि उच्च मनोबलमा खेल्ने पक्का छ । कङ्गो सन् १९७४ पछि विश्वकप खेल्दै छ । सो समय उसले जायरको नामबट विश्वकप खेलेको थियो ।
नकआउटमा पुग्न खेल्दै इङ्ग्ल्यान्ड र घाना
समूह ‘एल’ अन्तर्गत इङ्ग्ल्यान्ड र घानाले मङ्गलबार एकअर्कासँग खेल्दा दुवै टिमको नजर नकआउट चरणमा हुने छ । इङ्ग्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई ४–२, घानाले पनामालाई १–० ले हराएको थियो । दुवैलाई अर्को एक जितले नकआउट चरणमा पु¥याउने छ ।
पछिल्लो विश्वकपमा तेस्रो स्थान बनाउने क्रोएसियाविरुद्धको जितपछि थोमस टुचेलको टिमलाई विश्वकप जित्न सक्ने वास्तविक दाबेदारका रूपमा लिइएको छ । क्रोएसियाविरुद्ध हेरी केन, युड बेलिङ्घम र मार्कस ¥यासफर्डले गोल गर्नुभएको थियो । यस टिममा बुकायो साका, डेक्लान राइस, कोब माइनो र मोर्गन रोजर्स जस्ता प्रतिभाशाली खेलाडी पनि हुनुहुन्छ । प्रशिक्षक टुचेलको टिममा डिफेन्समा भने केही सुधारको आवश्यकता छ ।
घानाले इन्जुरी समयमा गोल गरी विश्वकपमा विजयी सुरुवात गरेको हो । इङ्ग्ल्यान्डविरुद्धको खेलमा प्रमुख खेलाडीमध्ये एक थोमस पार्टीले पनि खेल्नुहुने छ । उहाँले क्यानडाको भिसा नपाएपछि पनामाविरुद्ध खेल्न सक्नुभएको थिएन । आर्सनलका पूर्वखेलाडी पार्टीमाथि बलात्कारको आरोप लागेको थियो । जसलाई उहाँले अस्वीकार गर्दै आउनुभएको छ । सङ्गठित भएर तेज प्रत्याक्रममा खेल्न माहिर घानाका खेलाडी तेज गतिमा खेल्छन् । उनीहरू शारीरिक रूपमा पनि बलिया छन् । जसले इङ्ग्ल्यान्डलाई समस्यामा पार्न सक्छ । सन् २०१० का विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा गरेको घानाले यस प्रतियोगितामा त्यस्तै गौरव दोह¥याउने सपना देखेको छ ।
समूह ‘एल’ मै पहिलो खेल हार्ने दुई टिम पनामा र क्रोएसियाले विश्वकपमा आफ्नो दाबेदारी कायम राख्न एकअर्काविरुद्ध खेल्दै छन् । सो खेलमा क्रोएसियालाई जितको दाबेदार मानिएको छ । क्रोएसिया पछिल्लो विश्वकपमा तेस्रो स्थान बनाउने टिम हो भने पनामाले अहिलेसम्म विश्वकपमा खेल जित्न सकेको छैन । यद्यपि पनामाले घानाविरुद्धको खेलमा प्रभावशाली प्रदर्शन गरेको थियो । घानालाई दबाबमा राखे पनि गोल गर्न नसकेको पनामा इन्जुरी समयको पाँचौँ मिनेटमा डिफेन्समा ध्यान केन्द्रित हुन नसक्दा स्तब्ध भएको हो । पनामाको समस्या फिनिसिङमा देखिएको छ ।
