रास्वपा महाधिवेशन : बन्द सत्रको कार्यतालिका
काठमाडौं । चितवनमा हिजो आइतबारदेखि सुरु भएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ। बन्द सत्रको कार्यक्रम उद्योग संघको प्रदर्शनी केन्द्रमा राखिएको छ।
सोमबार बिहान ८ बजेदेखि नै बन्द सत्र सुरु गर्ने भनिएको थियो। तर, प्रतिनिधिहरूको उपस्थितिमा ढिलाई र ब्रेकफास्टका कारण केही ढिलो गरी मात्रै बन्द सत्र सुरु हुने एक नेताले जानकारी दिए। बन्द सत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक र आर्थिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छ।
ती प्रतिवेदनहरू पारित भएपछि निर्वाचन प्रक्रिया पनि अघि बढ्ने तालिका छ। रास्वपा निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। नयाँ नेतृत्व चयन गर्दै रास्वपा महाधिवेशन मंगलबार सक्ने तयारी छ।

