विश्व कप : उरुग्वे-केप भर्डे बराबरीमा रोकियो

काठमाडौं ।  फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २-२ को बराबरीमा सकिएको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।

दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे । केप भर्डेले उरुग्वेविरुद्ध सुरुवाती अग्रता लिएको थियो ।

२१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई ऐतिहासिक अग्रता दिलाएका थिए । त्यसपछि ४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रतामा पुर्‍याएका थिए । ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर र गोलकिपरको तालमेल नमिल्दा केप भर्डेका हेलियो भारेला गोल गर्दै बराबरी गोल फर्काए ।

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन । बल पोजिसनमा केप भर्डेभन्दा करिब दोब्बर समय रहेपनि उरुग्वेले गोल भने गर्न सकेन । उरुग्वेले सर्ट पनि केप भर्डेभन्दा धेरै प्रहार गर्‍यो ।

यो नतिजासँगै समूह ‘एच’ मा उरुग्वे र केप भर्डेले २ खेलबाट समान २ अंक जोडेका छन् । उक्त समूहमा २ खेलबाट ४ अंक जोड्दै स्पेन शीर्ष स्थानमा छ । साउदी अरेबियाले एक अंक जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर