स्कटल्याण्डले हाइटीलाई हरायो, अस्ट्रेलियाको विजयी सुरुआत

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ को खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो ।

२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जितसँगै शीर्ष तीन अङ्क जोडेको छ । स्कटल्याण्डले पछिल्लो पटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन सकेको थिएन । स्कटल्याण्डको जितमा जोन म्याकगिनलले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको पहिलो हाफको २८औँ मिनेटमा गोल गरे ।

समूह ‘सी’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले मोरक्कोसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । यस समूह ‘सी’ मा स्कटल्याण्ड तीन अङ्कका साथ शीर्ष स्थानमा छ भने मोरक्को एक अङ्कका साथ दोस्रो स्थानमा छ ।

अस्ट्रेलियाले टर्किएलाई हराउँदै  विजयी सुरुआत

यसैगरी फिफा विश्वकपको समूह ‘डी’ अन्तर्गत अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो।

भ्यान्कोभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा नेस्टरी इरानकुन्डाले २७औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। त्यसपछि कनर मेटकाल्फले ७५औँ मिनेटमा अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे

समूह ‘डी’ कै अर्को खेलमा आयोजक अमेरिका पनि विजयी सुरुआत गरेकाे छ। अमेरिकाले पाराग्वेमाथि ४–१ को प्रभावशाली जित दर्ता गर्दै घरेलु भूमिमा विश्वकप अभियानको सुखद सुरुआत गरेको थियो। पहिलो चरणका खेल सम्पन्न हुँदा समूह ‘डी’ मा अमेरिका र अस्ट्रेलिया समान तीन–तीन अंकसहित शीर्ष स्थानका लागि प्रतिस्पर्धामा रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर