देउवा, खड्का र कोइरालाले गरेनन् क्रियाशील सदस्यता नवीकरण
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यहरूको ‘डिजिटल अद्यावधिक’ गर्ने म्याद समाप्त गरेको छ । अद्यावधिकका लागि योग्य ७ लाख ८२ हजार २०९ सदस्यमध्ये ५ लाख ३८ हजार ६२२ जनाले मात्र ‘एनसीआईडी’ प्राप्त गरेका छन् भने १ लाख ४९ हजार ३०९ जना प्रक्रियामा रहेका छन् ।
तर, निवर्तमान सभापति शेरबहादुर देउवा, डा.शेखर कोइराला, पूर्णबहादुर खड्कालगायत कांग्रेसका अधिकांश शीर्ष नेताले सदस्यता अद्यावधिक गरेका छैनन् । क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलले केही नेताहरूले यसलाई राजनीतिक विषय बनाएकै कारण अद्यावधिक नगरेको बताए । उनका अनुसार नेताहरूले चाहेको खण्डमा उनीहरूलाई अद्यावधिक प्रक्रियामा समावेश गर्न सकिनेछ ।
इतर समूहले भने १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण गरिसकेकालाई पुनः अद्यावधिक गर्न बाध्य पार्नु अव्यावहारिक भएको भन्दै विरोध जनाएको छ । पूर्वसहमहामन्त्री डा.प्रकाशशरण महतले नवीकरण गरिसकेका सदस्यलाई स्वतः अद्यावधिक गरिनुपर्ने धारणा व्यक्त गरेका छन् । कांग्रेस नेतृत्वले डिजिटल अद्यावधिकलाई महाधिवेशन सहभागितासँग जोडेको छ भने देउवा–शेखर समूहले यसलाई राजनीतिक प्रतिष्ठाको विषय बनाउँदै अनिवार्य नगर्न माग गर्दै आएको छ ।
