मुम्बईको फ्लाइओभर मुनि ‘स्कुल’ !

काठमाडौं ।  मुम्बईको व्यस्त फ्लाइओभर मुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र सञ्चालन भइरहेको एक अनौपचारिक तर जीवनपरिवर्तनकारी विद्यालयले सडकमा जीवन बिताइरहेका तथा अत्यन्त विपन्न बालबालिकाका लागि शिक्षाको नयाँ बाटो खोलिदिएको छ ।

सहरका चम्किला भवन र भीडभाडयुक्त सडकबिच रहेको यो ‘सिग्नल शाला’ विद्यालय धेरैका लागि आशा र अवसरको केन्द्र बनेको छ । भारतमा छ देखि १४ वर्ष उमेरका बालबालिकाका लागि निः शुल्क शिक्षाको कानूनी व्यवस्था भए पनि गरिबी, बसाइँसराइ र अस्थिर रोजगारीका कारण लाखौँ बालबालिका अझै विद्यालय बाहिर रहेका छन् ।

विशेष गरी मुम्बई जस्ता ठूला सहरमा सडक र झुपडी बस्तीमा बस्ने परिवारका बालबालिका नियमित शिक्षाबाट वञ्चित हुने अवस्था कायम छ । यही सन्दर्भमा गैरनाफामुखी संस्थाले सञ्चालन गरेको ‘सिग्नल शाला’ले सडक बालबालिकालाई लक्षित गर्दै वैकल्पिक शिक्षाको मोडेल अघि सारेको हो । संस्थापक भटु सावन्तका अनुसार औपचारिक शिक्षामा पहुँच नपाएका दर्जनौँ बालबालिकालाई समेट्दै उनीहरूलाई नियमित सिकाइमा ल्याउने प्रयास भइरहेको छ ।

“यी बालबालिका नियमित विद्यालय जान सक्दैनन्, त्यसैले हामीले उनीहरूका लागि विद्यालय नै उनीहरूसम्म ल्याएका हौँ”, सावन्तले भन्नुभयो । भारतको विशाल सार्वजनिक विद्यालय प्रणाली भए पनि सन् २०२४–२५ को सरकारी तथ्याङ्कअनुसार करिब १२ लाख बालबालिका अझै विद्यालय बाहिर रहेको देखिएको छ । यसलाई बालशिक्षामा गम्भीर चुनौतीका रूपमा लिइएको छ ।

सिग्नल शाला फ्लाइओभर मुनि राखिएका वातानुकूलित कन्टेनरबाट सञ्चालन हुन्छ, जहाँ ट्राफिकको निरन्तर आवाजबिच कक्षा सञ्चालन हुन्छ । विद्यालयको संरचना सडक जीवनको यथार्थअनुसार तयार गरिएको छ । बिहानै विद्यालय बसले मुम्बईका झुपडी बस्तीका साँघुरा गल्ली घुम्दै यातायात खर्च धान्न नसक्ने धेरै परिवारका विद्यार्थीलाई उठाउँछ ।

विद्यालय प्रवेशसँगै बालबालिकालाई पहिले नुहाउने सुविधा दिइन्छ, व्यक्तिगत सरसफाइका आधारभूत सुविधा नहुँदा उनीहरूका लागि किताब, लुगा र सामग्री सुरक्षित राख्न लकरको व्यवस्था गरिएको छ । दैनिक तीन छाक खाना निःशुल्क उपलब्ध गराइन्छ र कक्षा समय पनि सामान्यभन्दा लामो राखिएको छ ।

यहाँ शिक्षण प्रणाली उमेर नभई, क्षमताका आधारमा विभाजन गरिएको छ । शिक्षकले कहिल्यै औपचारिक विद्यालय नदेखेका बालबालिकाका लागि आधारभूत लेखपढदेखि व्यावहारिक सीपसम्मका पाठ्यक्रम अनुकूलन गर्छन् । ठूला उमेरका विद्यार्थीलाई स्थिर बस्ने, स्पष्ट बोल्ने र ध्यान केन्द्रित गर्ने जस्ता आधारभूत सामाजिक सीप पनि सिकाइन्छ ।

विद्यालयमा विशेष चुनौती अर्ध-घुमन्ते पारधी समुदायका बालबालिकासँग देखिन्छ, उनीहरूले स्थानीय भाषा पनि राम्ररी बोल्दैनन् । शिक्षक तेजस्वी बोराडेका अनुसार सुरुआती अवस्थामा धेरै बालबालिकालाई हप्ता, महिना वा ऋतुजस्ता आधारभूत अवधारणा पनि थाहा थिएन । “जब उनीहरू यहाँ आएका थिए, उनीहरूलाई समयको आधारभूत संरचना नै थाहा थिएन”, बोराडेले भन्नुभयो ।

विद्यार्थीका लागि यो विद्यालय केवल पढाइको ठाउँ मात्र नभई सुरक्षित आश्रयस्थल पनि बनेको छ । १२ वर्षीया पूजा पवारले विद्यालय बस देख्दा खुसी हुने बताउँदै विद्यालयमा खाना, खेलकुद र सांस्कृतिक गतिविधिले आफूलाई आकर्षित गर्ने बताउनुभयो । “बिहानको खाना राम्रो हुन्छ, हामी केक बनाउँछौँ, नाच्छौँ”, उहाँले भन्नुभयो ।

ट्राफिक लाइटमा सामान बेचेर जीविकोपार्जन गर्ने १२ वर्षीय बालाजी लक्ष्मणका लागि विद्यालय नयाँ भविष्यको ढोका बनेको छ । उहाँले डाक्टर बन्ने सपना देख्न थालेको बताउनुभयो । सञ्चालक सावन्तका अनुसार विद्यालयको उद्देश्य केवल आधारभूत शिक्षा दिनु मात्र नभई बालबालिकालाई २१ औँ शताब्दीका लागि तयार पार्नु पनि हो । मुम्बई बाहिरी क्षेत्रमा स्थापना गरिएका अन्य विद्यालयमा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र थ्रीडी प्रिन्टिङजस्ता आधुनिक प्रविधि पनि सिकाइन्छ ।

सावन्तले सरकार र निजी क्षेत्रको सहयोगमा सञ्चालन भइरहेको यो मोडेलले ‘अत्यन्त वञ्चित बालबालिकालाई पनि समान अवसर दिन सक्ने’ विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार आजका यी बालबालिकाले प्रविधि र सीपमा पहुँच पाए भने भविष्यमा सामाजिक असमानता घटाउन सक्ने आधार तयार हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर