इरानद्वारा खाडी देशलाई चेतावनी
काठमाडौं । इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुक अमेरिकी सैन्य कारबाहीमा सहभागी भएको मानिने चेतावनी दिएको छ । इरान र अमेरिकाबिच जारी युद्धका बिच इरानी सेनाको यस्तो चेतावनीले खाडी क्षेत्रमा सैन्य तनाव थप बढ्ने सङ्केत गरेको छ ।
इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीले अमेरिकी सेनालाई दिइने कुनै पनि सहयोग वा सुविधा अमेरिकी सैन्य कारबाहीमा सहभागिता सरह हुने बताउनुभएको मेहर समाचार एजेन्सीले जनाएको छ । उहाँले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा ठूलो सङ्ख्यामा सैन्य विमान, विशेष गरी हवाई इन्धन भर्ने विमान, सम्बन्धित देशको जानकारी वा सहमति बिना तैनाथ हुन सक्ने सम्भावना न्यून रहेको बताउनुभयो ।
त्यसैले इरानविरुद्ध आफ्नो भूभाग प्रयोग गर्न नदिने भन्दै वक्तव्य जारी गरेका खाडी मुलुकलाई अवस्थाबारे आफू पूर्णरूपमा जानकार रहेको उहाँले चेतावनी दिनुभयो । अब्दोलाहीले अमेरिकी सेनालाई सहयोग गर्नु वा अमेरिकी सैन्य गतिविधिका लागि सुविधा उपलब्ध गराउनु इरानविरुद्धको कारबाहीमा प्रत्यक्ष संलग्नताका रूपमा लिइने स्पष्ट पार्नुभयो । उहाँको चेतावनी विशेष गरी खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा तिनको प्रयोगसँग सम्बन्धित देखिएको छ ।
इरान र अमेरिकाबिच फेब्रुअरी २८ देखि युद्ध जारी छ । इरानमाथि अमेरिका-इजरायलले गरेको आक्रमणपछि युद्ध सुरु भएको र त्यसको जवाफमा इरानले क्षेत्रभर रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको बताइएको छ । यसैबिच, अमेरिकी नौसेनाको ‘युएसएस जर्ज वासिङ्टन’ विमानवाहक युद्धपोत मध्यपूर्वमा पुनः तैनाथ गरिँदैछ ।
चालक दलको जीवनयापन सम्बन्धी अवस्था बिग्रिएको रिपोर्टपछि उक्त विमानवाहकलाई ‘युएसएस अब्राहम लिङ्कन’ को स्थान लिन मध्यपूर्व पठाउन लागिएको हो । इरानी चेतावनी अमेरिकी सैन्य उपस्थितिसँगै खाडी क्षेत्रमा तनाव बढिरहेका बेला आएको हो । खाडी मुलुकले आफूलाई इरानविरुद्धको युद्धमा प्रत्यक्षरूपमा संलग्न नगराउने बताउँदै आए पनि अमेरिकी सेनाको गतिविधि र सैन्य आधारको प्रयोगलाई लिएर तेहरानले ती देशलाई थप दबाब दिन थालेको छ ।
