जापानमा ५.९ म्याग्निच्यूडको भूकम्प
काठमाडौं । पूर्वी जापानमा आइतबार बिहान ५.९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पले राजधानी टोकियोसहित आसपासका क्षेत्रमा ठूलो कम्पन गराएको अधिकारीहरूले बताएका छन्। भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको बताइएको छ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार इबाराकी प्रिफेक्चरको दक्षिणी क्षेत्रमा केन्द्रबिन्दु रहेको भूकम्प ७० किलोमिटर गहिराइमा गएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले भने भूकम्पको प्रारम्भिक तीव्रता ५.८ म्याग्निच्यूड रहेको जनाएको छ।
जापानको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार टोकियोको उत्तरपूर्वमा पर्ने इबाराकी, चिबा र साइतामा प्रिफेक्चरमा कम्तीमा पाँच जना घाइते भएका छन्। थप मानिस घाइते भएको हुन सक्ने भन्दै घटनाको विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन्।
भूकम्पका कारण टोकियो र नारिता विमानस्थल जोड्ने एक्सप्रेस रेललगायत उत्तरपूर्वी क्षेत्रका केही स्थानीय रेल सेवामा ढिलाइ भएको थियो। यद्यपि, शिन्कान्सेन बुलेट ट्रेन सेवा भने सामान्य रूपमा सञ्चालन भइरहेको रेल सञ्चालक कम्पनी इस्ट जापान रेलवेले जनाएको छ।
प्रधानमन्त्री साने ताकाइचीले सम्भावित क्षतिको मूल्यांकन गर्न सरकारले विशेष कार्यदल गठन गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी छन्। भूकम्पपछि मोबाइल फोनमा आपत्कालीन चेतावनी बजेको थियो। टोकियोमा पनि भूकम्पको तीव्र कम्पन महसुस गरिएको थियो। सार्वजनिक प्रसारक एनएचकेका अनुसार मिटो र साइतामालगायत आसपासका सहरमा सडक यातायात भने सामान्य देखिएको थियो।
टोकियोको कोतो वार्डमा भूमिगत पानीको पाइप फुट्दा सडकमा पानी बगेको थियो। विद्युत् आपूर्तिमा समेत असर परेको थियो। टोकियोका करिब ४६० घरमा केही समय विद्युत् सेवा अवरुद्ध भए पनि आइतबार बिहानसम्म विद्युत् आपूर्ति पुनःस्थापित गरिएको टोकियो इलेक्ट्रिक पावर ग्रिडले जनाएको छ।
जापानमा भूकम्पको जोखिम उच्च रहँदै आएको छ। गत महिना दक्षिणी क्युशुको कुमामोतो क्षेत्रमा ७.१ म्याग्निच्यूडको भूकम्प जाँदा ३८ जनाको मृत्यु र ३६४ जना घाइते भएका थिए। उक्त भूकम्पमा १ हजार ५०० भन्दा बढी भवन पूर्ण रूपमा ध्वस्त भएका थिए भने करिब २० हजार भवनमा क्षति पुगेको थियो।
