इन्दायणी द्योछें मन्दिर पुनर्निर्माण सम्पन्न, भोलि क्षमा पूजा गरिँदै

भक्तपुर । इन्दायणी द्योछें पुनर्निर्माण उपभोक्ता समितिले मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएसँगै भोलि क्षमा पूजा तथा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम असार ४ गते बिहान ९ बजे मन्दिर परिसरमा हुने समितिले जनाएको छ।

उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायका अनुसार भोलि बिहान ७ बजे भक्तपुरको दुधपाटीबाट सांस्कृतिक बाजागाजासहितको र्‍याली सुरु हुनेछ। र्‍याली मन्दिर परिसरमा पुगेपछि क्षमा पूजा लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।

रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रायले विभिन्न समयमा आएका अवरोधका बाबजुद मन्दिरको पुनर्निर्माण कार्य गुणस्तरीय सामग्रीको प्रयोगसहित सम्पन्न गरिएको जानकारी दिए। उनका अनुसार पुनर्निर्माणमा कुल ३ करोड ७६ लाख ४ हजार ४ सय ६६ रुपैयाँ खर्च भएको छ।

उक्त रकममध्ये भक्तपुर नगरपालिकाबाट २ करोड ७६ लाख ३ हजार ३ सय ३३ रुपैयाँ र चन्दादाताबाट ६३ लाख ९४ हजार १ सय ३३ रुपैयाँ संकलन गरिएको रायले बताए। त्यस्तै, करिब १७ लाख रुपैयाँ बराबरको भौतिक सहयोग तथा हजारौँ स्थानीयको श्रमदानबाट पनि पुनर्निर्माण कार्य सम्पन्न गर्न महत्वपूर्ण योगदान पुगेको उनले उल्लेख गरे।

मन्दिरको नियमित मर्मतसम्भारका लागि २० लाख रुपैयाँको छुट्टै अक्षय कोष स्थापना गरिएको समितिले जनाएको छ। प्रत्येक वर्ष कम्तीमा एकपटक मन्दिरको मर्मतसम्भार गर्ने उद्देश्यले उक्त कोष स्थापना गरिएको र कोषमा थप सहयोग जुटाउने क्रम जारी रहेको अध्यक्ष रायले बताए।

उनका अनुसार नेपाल संवत् ८११ मा स्थापना गरिएको मन्दिरमा रहेको मूर्तिको स्वरूप पुनर्निर्माणका क्रममा पहिलोपटक सुनको लेपनसहित पूर्णरूपमा परिवर्तन गरिएको छ।

पत्रकार सम्मेलनमा समितिकी सचिव कृष्णेश्वरी हाडाले भोलि हुने कार्यक्रमलाई विभिन्न समूह विभाजन गरी व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिइन्। उनका अनुसार विभिन्न सांस्कृतिक बाजागाजासहित कार्यक्रम आयोजना गरिनेछ।

पुनर्निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै हाडाले भोलि बिहान ९ बजे हुने क्षमा पूजामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें प्रमुख अतिथिका रूपमा सहभागी हुने जानकारी दिइन्। उनले कार्यक्रममा सम्पूर्ण भक्तजन तथा शुभेच्छुकलाई उपस्थितिका लागि निमन्त्रणा समेत गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर