आज बिहीबार रातिदेखि विश्व कप फुटबलको प्रतिस्पर्धा हुँदै
काठमाडौं । आज बिहीबार रातिदेखि विश्व कप फुटबलको प्रतिस्पर्धा औपचारिक रूपमा सुरु हुँदैछ । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगिता फुटबल इतिहासकै सबैभन्दा ठुलो र विशाल ‘सुपरसाइज्ड’ विश्वकप हो । यस पटकको प्रतियोगितामा टोलीहरूको सङ्ख्या बढाएर ४८ पुर्याइएको छ । यी टोलीहरूले १६ वटा अत्याधुनिक रङ्गशालाहरूमा कूल १०४ वटा खेलहरू खेल्नेछन् । प्रतियोगिता ३९ दिनसम्म चल्नेछ ।
फिफाले साविकको ३२ टोलीको संरचनालाई परिमार्जन गरेपछि शुरू भएको यो पहिलो विश्वकप हो । यससँगै शुरूआती चरणमा चार वटा थप समूहहरू र नकआउट चरणमा ‘राउन्ड अफ ३२’ को नयाँ ढाँचा थपिएको छ । विश्वकपको इतिहासमा सन् १९९८ मा फ्रान्समा भएको प्रतियोगितापछि पहिलो पटक यसरी टोलीको सङ्ख्या विस्तार गरिएको हो । त्यस्तै, सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेपछिको इतिहासमा यो दोस्रो पटक मात्रै प्रतियोगिता एकभन्दा बढी देशहरूमा खेलाउन लागिएको हो ।
प्रतियोगिताको उद्घाटन खेल आयोजना गर्ने अवसर मेक्सिकोले पाएको छ । मेक्सिको सिटीमा नेपाली समयानुसार आज राति आयोजना हुने उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दै छ । आजै हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका दक्षिण कोरिया र चेक गणतन्त्र मेक्सिकोको ग्वाडलाजारामा भिड्ने छन् ।

क्यानडा र अमेरिकाले भने भोलि शुक्रबार मात्रै आफ्ना पहिलो खेलहरू आयोजना गर्नेछन् । क्यानडाले टोरन्टोमा बोस्निया-हर्जगोभिनासँग खेल्नेछ भने अमेरिकी टोलीले क्यालिफोर्नियाको इङ्गलवुडमा पराग्वेको सामना गर्नेछ । आजको उद्घाटन खेलअघि मेक्सिको सिटीमा एक भव्य उद्घाटन समारोह आयोजना हुनेछ । समारोहमा विश्वप्रसिद्ध गायक एन्द्रेया बोचेलीका साथै मेक्सिकोका स्थानीय प्रतिभाहरू अलेजान्ड्रो फर्नान्डेज र माना जस्ता कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन् ।
संयुक्त राज्य अमेरिकामा ११, मेक्सिकोमा ३ र क्यानडामा २ वटा सहरहरू खेल स्थलका रूपमा चयन गरिएका छन् । आयोजक मेक्सिकोले मेक्सिको सिटीमा हुने आजको उद्घाटन खेल र तीन वटा नकआउट खेलसहित कुल १३ वटा खेलहरूको आतिथ्यता गर्नेछ ।
क्यानडाले पनि आफ्नो भागमा १३ खेलहरू पाएको छ, जसको शुरूआत भोलि टोरन्टोमा क्यानडा र बोस्निया-हर्जगोभिनाबिचको खेलबाट हुनेछ । बाँकी रहेका ७८ वटा खेलहरू अमेरिकामा आयोजना हुनेछन्, जसमा क्वार्टरफाइनल, सेमिफाइनल र न्यू जर्सीको मेटलाइफ रङ्गशालामा हुने फाइनल खेल समावेश छन् । यस पटक विश्वकपका टोलीहरूमा कुल १,२४८ खेलाडीहरू अनुबन्धित छन्, जुन आफैँमा एउटा रेकर्ड हो । यी खेलाडीहरू विश्वका ७१ देशका ४४९ वटा विभिन्न घरेलु क्लबहरूबाट आएका हुन् ।
जसमा ३५७ खेलाडीसँग विश्वकपको पुरानो अनुभव छ भने ८९१ जना खेलाडीहरू पहिलो पटक विश्वकप खेल्दै छन् । खेलाडी आपूर्तिको मामिलामा इङ्गल्यान्ड सबैभन्दा अगाडि छ, जहाँका क्लबहरूबाट खेल्ने २०० खेलाडी विश्वकप टोलीमा छन् ।
जर्मनीका १०९, फ्रान्स र स्पेनका ८६-८६ तथा इटालीका ७१ खेलाडी यसमा समेटिएका छन् । क्लबका आधारमा प्रिमियर लिगको म्यानचेस्टर सिटीका सबैभन्दा बढी १९ र बायर्न म्युनिखका १८ खेलाडी आ-आफ्नो देशका लागि खेल्दै छन् । विश्वकप इतिहासमा अहिलेसम्म केवल आठ देशले मात्रै उपाधि जित्न सकेका छन्, जसमा ब्राजिलले सबैभन्दा बढी पाँच पटक यो ट्रफी उचालेको छ । पछिल्ला ११ संस्करणहरूमा सन् १९९८ मा फ्रान्स र सन् २०१० मा स्पेन मात्रै पहिलो पटक विजेता बनेका नयाँ टोली हुन् ।
सबैभन्दा आकर्षक र बढी आम्दानी गर्ने खेलकुद प्रतियोगिता
यो विश्वकप खेल इतिहासकै सबैभन्दा आकर्षक र बढी आम्दानी गर्ने खेलकुद प्रतियोगिता बन्ने अनुमान गरिएको छ । विश्व व्यापार सङ्गठनको विश्लेषण अनुसार प्रतियोगिताले तीन देशहरूमा कुल ८०.१ अर्ब डलर बराबरको आर्थिक उत्पादन गर्नेछ, जसमध्ये ३०.५ अर्ब डलर त अमेरिकामा मात्रै उत्पन्न हुनेछ ।
फिफाको वित्तीय प्रतिवेदन अनुसार यस चार वर्षे चक्रबाट फिफाले १३ अर्ब डलर आम्दानी गर्नेछ, जसको झन्डै ९ अर्ब डलर यसै वर्ष मात्र सङ्कलन हुनेछ । यसको तुलनामा सन् २०२२ को कतार विश्वकपबाट फिफाले ७.५ अर्ब डलर मात्र कमाएको थियो । तर, यस भव्यताका बिच फिफाले टिकटको अत्यधिक मूल्य र बिक्री रणनीतिका कारण ठुलो आलोचना र कानुनी अनुसन्धानको सामना गरिरहेको छ । जुलाई १९ मा हुने फाइनल खेलका केही सिटहरूको मूल्य झन्डै ३३,००० डलरसम्म पुगेको छ ।
यसपालि विश्वकपको उपाधि दाबेदार स्पेन र फ्रान्स
विश्वकप मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । त्यसपछि गत विजेता अर्जेन्टिना, बेलायतलाई पनि विश्वकप जित्ने टिमका रूपमा आँकिएको छ । जर्मनी, पोर्चुगल, ब्राजिल, नेदरल्यान्ड्सलाई पनि दाबेदारीको सूचीबाट झिक्न मिल्दैन ।
प्रसिद्धि कमाउने र आफूलाई महान् बनाउने ठुलो मञ्चमा नेमार, किलियन एमबापे, लामिने यमाल, ओसमान डेम्बेले, इर्लिङ हालान्ड, मोहम्मद सलाह जस्ता स्टार खेलाडी चम्किने अपेक्षा गरिएको छ । तर यसपालि पनि चर्चा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोकै हुने पक्का छ । यस विश्वकपमा आधुनिक फुटबलका दुई महान् खेलाडी अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोबिच पुनः उत्कृष्टताको लडाइँ हुने छ । यी दुवै अन्तिम पटक विश्वकप खेलिरहेको हुनाले भावनात्मक क्षण पनि पक्कै आउने छ । यी दुवै छैटौँ पटक विश्वकप खेल्ने तयारीमा छन् । तर ढल्किँदो उमेरमा यी दुईका लागि यो विश्वकप अग्निपरीक्षा नै हुने छ ।
यसै गरी प्रत्येक संस्करणमा जस्तै चोटले अथवा आफ्नो टिम छनोट नहुँदा विश्वका केही उत्कृष्ट खेलाडी पनि यस पटक अभाग्यशाली साबित भएका छन् । विभिन्न कारणले अभाग्यशाली हुँदा फ्रान्सका ह्युगो इकिटिके, ब्राजिलका स्टार खेलाडीद्वय रोड्रिगो र इडर मिलिटाओ, जर्मनी तथा बायर्न म्युनिखका फरवार्ड सर्जी गाब्री, इङ्ग्ल्यान्डका कोल पाल्मर, फिल फोडेन, अर्जेन्टिनाका पाउलो डिबाला, पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, जर्जियाका कभारा केभित्सखलिया र हङ्गेरीका डोमिनिक सोबोस्लाई जस्ता खेलाडी दर्शकमा सीमित भएका छन् ।
विश्वकप सुरु हुनुअघि कूटनीतिक चिसोपना, यात्रा प्रतिबन्ध, कठोर आप्रवासन नीति, युद्धको भय जस्ता चुनौती पनि छन् । यस पटकको विश्वकपका टिकट अहिलेसम्मकै सबैभन्दा महँगा छन् । त्यसमाथि इरानसँगको युद्ध यस विश्वकपको सबैभन्दा जटिल पाटो हो । यसबाहेक अत्यधिक गर्मी पनि चुनौती हुने छ । यस विश्वपकमा कुल पुरस्कार राशि ६५५ मिलियन डलर रहेको छ । यो कतार विश्वकपको तुलनामा ४९ प्रतिशतले बढी हो । यस वर्ष च्याम्पियनले ५० मिलियन डलर प्राप्त गर्ने छ ।
