रविको संसद चलाउने प्रस्ताव विपक्षीद्वारा अस्वीकार
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रस्ताव अस्वीकार गर्दै विपक्षी दलहरूले संसद् बैठकमा अवरोध कायमै राख्ने भएका छन्।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा विपक्षी दलले सत्ता पक्षको आग्रह इन्कार गरेको हो। रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा सभापति लामिछानेले संसद्मा जारी गतिरोध अन्त्यका लागि विपक्षीसमक्ष प्रस्ताव राखेका थिए।
‘सदन अवरुद्ध हुने अवस्थालाई निराकरण गरेर जानुपर्छ भन्ने कुरा सभापतिज्यूबाट अनुरोध भयो। सरकारका तर्फबाट परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रीले प्रस्ट्याउने केही कुरा राखेको छ, आवश्यक पर्छ भने त्यो कुरा सदनमा पनि राख्न सकिन्छ भन्ने कुरा सभापतिले राख्नुभएको थियो’, बुर्लाकोटीले भने।
उनका अनुसार भारत भ्रमण र प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको नेपाल-भारत सीमासम्बन्धी अभिव्यक्तिलगायत विषयमा सभापति लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा बोल्ने प्रस्ताव राखिए पनि विपक्षीहरू नमानेका हुन्।
