संसद अवरोध राष्ट्रहितका लागि हो, कुनै व्यक्ति वा दलविरुद्ध होइन : ऐन महर

भक्तपुर ।  नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको हालैको अभिव्यक्ति राष्ट्रहित, राष्ट्रिय स्वतन्त्रता तथा भौगोलिक अखण्डताविपरीत रहेको भन्दै त्यसको विरोधमा प्रतिपक्षी दलहरूले संसदमा अवरोध जारी राखेको बताएका छन्।

रफ्त सञ्चार क्लबले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै महरले संसद जस्तो गरिमामय संस्थाको रोस्ट्रमबाट राष्ट्रिय संवेदनशीलतासँग जोडिएका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिनु उचित नभएको बताए। प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको दाबी गर्दै उनले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे।

उनले संसदमा जारी विरोध कुनै व्यक्ति वा दलविरुद्ध लक्षित नभई राष्ट्रहित र राष्ट्रिय अडानको पक्षमा भएको स्पष्ट पारे। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक नगरेसम्म प्रतिपक्षी दलहरूको विरोध जारी रहने संकेत पनि उनले गरे।

महरले मुलुकको वर्तमान राजनीतिक अवस्थामा राष्ट्रिय एकता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राखेर सरकार अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। सत्ता पक्षले राष्ट्रिय हितसँग सम्बन्धित विषयमा संयमित, जिम्मेवार र परिपक्व अभिव्यक्ति दिनुपर्ने उनको भनाइ थियो।

फरक प्रसंगमा उनले नेकपा एमालेभित्र कुनै विभाजन वा आन्तरिक संकट नरहेको दाबी गर्दै पार्टी एकढिक्का र संगठित रहेको बताए। पार्टी अध्यक्षविरुद्ध समय–समयमा आउने अभिव्यक्तिहरूले संगठनलाई कुनै असर नपार्ने जिकिर गर्दै उनले पार्टीलाई कमजोर बनाउने र असहजता सिर्जना गर्ने गतिविधिबाट सबै सचेत हुनुपर्ने बताए।

“नेकपा एमाले एकजुट, संगठित र देश तथा जनताको पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो,” उनले भने, “कठिन परिस्थितिमा आरोप–प्रत्यारोपभन्दा एकता, जिम्मेवारी र कार्यसम्पादनमा केन्द्रित हुन आवश्यक छ।”

महरले पछिल्लो समय मिठा कुरा गर्ने तर कार्यान्वयनमा उदासीन रहने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै देश र जनताको हितका लागि परिणाममुखी र काममुखी राजनीतिक संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर