विश्वकप इतिहास : बाजियो र रोमारियो चम्केको त्यो दिन

काठमाडौं ।  सन् १९९० को विश्वकपमा थोरै गोल तथा प्रतिस्पर्धासमेत खासै रोमाञ्चक हुन नसकेकाले फिफाले आक्रामक खेल होस् भनेर चार वर्षपछि अमेरिकामा भएको विश्वकपमा नियम परिवर्तन गरेर जितमा तीन अङ्क दिने भयो । साथै समूह चरणमा पाएका पहेँलो कार्ड अर्को चरणमा नसर्ने नियम पनि बनाइयो । रेफ्रीले पनि परम्परागत कालो रङको जर्सीको सट्टा रङ्गीन जर्सी लगाउने भए ।

अमेरिकामा फुटबल त्यति लोकप्रिय थिएन तर अर्जेन्टिनाका डियगो म्याराडोना प्रतिबन्धित औषधको प्रयोगले गर्दा प्रतियोगिताबाट निकालिनुभयो र कोलम्बियाका डिफेन्डर आन्द्रेज इस्कोबारको प्रतियोगितापछि खेलको विषयलाई लिएर गोली हानेर हत्या गरिएको घटनाले यो विश्वकप अझै पनि फुटबलप्रेमीको मनमस्तिष्कमा ताजै छ । विश्वकपमा इस्कोबारले आत्मघाती गोल गर्नुभएको थियो ।

प्रशिक्षक अल्बर्टो परेराको प्रशिक्षकत्वमा ब्राजिलले आफ्नो परम्परागत शैलीको फुटबल खेल देखायो । यस प्रतियोगितामा ब्राजिलका स्टाइकर रोमारियो रोक्न नै नसकिने खेलाडीका रूपमा देखिनुभयो । रोमारियो यस विश्वकपमा चम्किएपछि ब्राजिलले चौथो पटक  विश्वकप जित्यो । पाएको जिम्मेवारीमा अमेरिका खरो उत्रियो । उसले सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरेको थियो । यस पटक उल्लेखनीय सङ्ख्यामा फुटबलप्रेमीको सहभागिता रह्यो ।

म्याराडोना र आन्द्रेज इस्कोबार पनि सञ्चार माध्यममा निकै छाउनुभयो । ग्रिसविरुद्ध दर्शनीय गोल गर्ने म्याराडोनाले प्रतिबन्धित औषधी सेवन गरेको प्रमाणित भएपछि बाँकी खेलमा प्रतिबन्धित भए । यसै गरी अमेरिकाविरुद्धको खेलमा आत्मघाती गोल गर्ने डिफेन्डर इस्कोबारको कोलम्बियामा गोली हानी हत्या गरियो । रोमारियोसँगै इटालीका रोबर्टो बाजियोले पनि यस विश्वकपमा आफ्नो नाटकीय छविलाई अझै बढाउनुभयो ।

बाजियोले दोस्रो चरणमा नाइजेरियाविरुद्ध प्रभावशाली खेल देखाएपछि क्वाटरफाइनलमा पनि स्पेनविरुद्ध दुई गोल गर्नुभयो । जर्मनीलाई स्तब्ध बनाउने बुल्गेरियालाई पनि इटालीले उनकै दुई गोलले पाखा लगायो तर बाजियोको दुर्भाग्यलाई फाइनल खेलले कुरिरहेको थियो ।

उता ब्राजिलले पनि सहजै फाइनलमा स्थान बनायो । हल्यान्डलाई क्वाटरफाइनलमा ३–२ ले हराएपछि रोमारियोको गोलद्वारा ब्राजिलले सेमिफाइनलमा स्विडेनलाई पराजित गरेको थियो ।

दुई उत्कृष्ट टिमबिचको फाइनल खेल रोचक हुन सकेन । दुवैतर्फबाट गोल हुन नसकेपछि पहिलो पटक विश्वकप उपाधिको निर्णय टाइब्रेकरबाट हुने भयो । बाजियोले निर्णायक पेनाल्टीमा गोलपोस्टमाथि बल हानेपछि इटाली निराश हुनु प¥यो । पछिल्ला खेलका नायक बाजियो एकाएक खलनायक बन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर