ओलीको सरकारलाई ठाडो चुनौती : “सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा !”

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन् ।

अध्यक्ष ओलीले काठमाडौंमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको दाबी गरेका हुन् । संवैधानिक र लोकतान्त्रिक रूपमा बलियो तथा जननिर्वाचित बहुमत प्राप्त सरकारलाई कानूनी र संसदीय प्रक्रियाबाट ढाल्न नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको ओलीको तर्क छ ।

उनले ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको समेत उल्लेख गरे । ओलीकाअनुसार आगो लगाउने विधि, पेट्रोल बम निर्माण र प्रज्वलनशील पदार्थलाई थप घातक बनाउने जस्ता प्राविधिक तयारीहरू पहिले नै गरिएका थिए । यो कुनै आकस्मिक घटना नभई सुनियोजित रूपमा अघि बढाइएको उनको भनाइ छ । अध्यक्ष ओलीले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउन र उनीहरूका विरुद्ध झुटा तथा बनावटी आरोपहरू लगाउने प्रपञ्चसमेत सोही योजनाको हिस्सा भएको जिकिर गरे ।

ओलीले सम्पत्ति छानविन आयोगलाई बयान नदिने बताउँदै भने, ‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ । त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ । जे जे गर्न सक्छ, गरोस् ।’

‘यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो । प्रतिशोधको पोको हो,’ ओलीले भने, ‘देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको चिज हो । यसले विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ ।’

आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने पनि उनले बताए । ‘…मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले’, उनले भने, ‘सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के-को सम्पत्ति विवरण ?’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर