युट्युबर खान सरको कोचिङ सेन्टरमा गोली प्रहार

काठमाडौं । पटनामा रहेको चर्चित शिक्षक तथा युट्युबर खान सरको कोचिङ सेन्टर बाहिर मङ्गगलबार गोली प्रहार हुनुका साथै तोडफोडको भएको छ । पटनाको मुसल्लहपुर हाट क्षेत्रमा रहेको सेन्टर बाहिर भएको आक्रमणमा एक सुरक्षाकर्मी घाइते भएका छन् । उनको हाल अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।

खान सरले दिएको जानकारी अनुसार बिहार पुलिस भर्तीको नतिजामा उनका हजारौँ विद्यार्थीहरू उत्तीर्ण भएपछि उनको टोली व्यस्त र थकित थियो । त्यही समयमा केही ‘असामाजिक तत्त्वहरू’ संस्थानमा आएर कर्मचारीहरूलाई धम्की दिनुका साथै सुरक्षाकर्मीहरूमाथि कुटपिट सुरु गरेका थिए । खान सरले सुरुमा ८ देखि १० राउण्ड गोली चलेको दाबी गरे पनि पछि उनले उक्त कुरा सुरक्षाकर्मीहरूको भनाइको आधारमा बोलेको र कोलाहलका कारण आफू पूर्ण रूपमा स्पष्ट नभएको बताएका छन् ।

उनले यो घटनाको पछाडि नजिकैका प्रतिद्वन्द्वी कोचिङ सेन्टरहरूको हात रहेको गम्भीर आरोप लगाएका छन् । उनका अनुसार प्रतिद्वन्द्वी कोचिङ सेन्टरहरूले दुई दिनभित्र उनको कोचिङ सेन्टर उडाइदिने धम्की समेत दिएका थिए । खान सरले आफ्नो संस्थानमा न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिएर राम्रो नतिजा ल्याएको कारण अन्य व्यावसायिक कोचिङ सेन्टरहरू उनीसँग रुष्ट रहेको र उनलाई दबाउन खोजेको दाबी गरेका छन् ।

घटनापछि सार्वजनिक भएको सीसीटिभी फुटेजमा केही व्यक्तिहरूले ढुङ्गा प्रहार गरेको, तोडफोड गरेको र खान सरको कोचिङ सेन्टरका ब्यानरहरू उखेलेर फालेको देखिएको छ । खान सरले उक्त फुटेज अधिकारीहरूलाई बुझाइसकेका छन् र दोषीहरूको पहिचान भइसकेको बताएका छन् । प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ । एसपी कार्तिकेय शर्माका अनुसार घाइते सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूको बयान लिने काम भइरहेको छ । हाल यसलाई भौतिक आक्रमणको मुद्दाको रूपमा अनुसन्धान अगाडि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर