विश्वकप–२०२६ मा खेल्ने दस सुपरस्टार फुटबलर

काठमाडौं । इतिहासमा आफ्नो नाम लेखाउन र चर्चित हुन विश्वकप सबभन्दा ठुलो मौका भएकाले पनि खेलाडी विश्वकपमा आफूले सक्दो प्रयास गर्छन् । विश्वकप फुटबल–२०२६ मा पनि केही चर्चित खेलाडीले फुटबल इतिहासमा आफ्नो नाम महान्को सूचीमा लेखाउन भरमग्दुर प्रयास गर्ने आशा गर्न सकिन्छ । आगामी विश्वकपमा यी १० खेलाडी सर्वाधिक हेर्नलायक खेलाडीका रूपमा रहेका छन् ।

१. लियोनेल मेसी

लियोनेल मेसीले चार वर्षअघि कतारमा अर्जेन्टिनालाई विश्वकप जिताउँदै आफ्नो खेल जीवनको सबभन्दा ठुलो सपना पूरा गर्नुभयो । मेसीले विश्वकप ट्रफीका लागि १८ वर्ष पर्खनुभएको थियो । कतार विश्वकपलाई मेसीकै विश्वकपका रूपमा सम्झना गरिने छ । मेसीले क्लब, देश र व्यक्तिगत रूपमा लगभग सबै प्रमुख उपाधि जितिसक्नुभएको छ । उहाँ अहिले डिएगो म्याराडोना र पेलेसरह सर्वकालीन महान् फुटबलर हुन् कि होइनन् भन्ने बहस जारी छ । मेसीले लगातार दोस्रो पटक विश्वकप जितेमा उहाँको सो दाबी अझ बलियो हुने छ । मेसी अहिले विश्वकप आयोजक अमेरिकाकै इन्टर मियामी सिएफबाट खेलिरहनुभएको छ । यद्यपि विश्वकप सुरु हुन दुई साताअघि ३८ वर्षीय मेसी इन्टर मियामीको खेल मैदान छाड्न बाध्य हुनुभएको थियो । उहाँको मांसपेशीमा खिचाव उत्पन्न भएको थियो । त्यसैले अर्जेन्टिना र मेसीका समर्थक केही चिन्तित छन् ।

२. क्रिस्टियानो रोनाल्डो

विश्व फुटबलमा लियोनेल मेसीसँगै यस पुस्ताका सर्वश्रेष्ठ खेलाडी मानिएका क्रिस्टियानो रोनाल्डोलाई विश्वकप ट्रफीले लोभ्याइरहेको छ । विश्वकपबाहेक आफ्नो सङ्ग्रहमा प्रायः सबै ट्रफी जम्मा गरिसकेका ४१ वर्षीय रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम अवसर छ । उहाँका गौरवशाली खेल जीवनमा छुटेको एक मात्र ठुलो उपाधिको खोजीमा रोनाल्डो छैटौँ पटक विश्वकप खेल्दै हुनुहुन्छ । उहाँको सङग्रहमा पाँच च्याम्पियन्स लिग उपाधि र एक युरोपियन च्याम्पियनसिप ट्रफी तथा दुई पटक नेसन्स लिग उपाधि रहेका छन् । पाँच पटक बालन डी ओर जितिसकेका रोनाल्डो सर्वाधक अन्तर्राष्ट्रिय गोल (१४३) गर्ने खेलाडी पनि हुनुहुन्छ । यद्यपि रोनाल्डोको उपाधि जित्न भोक अलिकति पनि कम भएको छैन । पोर्चुगलका कप्तान रोनाल्डो अल नासर एफसीलाई साउदी लिगको उपाधि दिलाएर विश्वकपमा प्रवेश गर्दै हुनुहुन्छ ।

३. किलियन एम्बापे

एम्बापेलाई लामो समयदेखि मेसी र रोनाल्डोपछि विश्वकै उत्कृष्ट खेलाडी बन्ने सम्भावित उत्तराधिकारी मानिँदै आएको छ । उहाँले १९ वर्षकै उमेरमा फ्रान्सलाई विश्वकप पनि दिलाउनुभयो । पछिल्लो संस्करणको फाइनलमा एम्बापेले ह्याट्रिक गरेर पनि फ्रान्सलाई जिताउन सक्नुभएन । पछिल्लो विश्वकपमा गोल्डेन बुट जित्ने एम्बापे नै हुनुहुन्थ्यो । विश्वकप विजेता र अन्य धेरै उपाधि जितिसकेको भए पनि एम्बापेले अझै च्याम्पियन्स लिग र बालोन डी ओर हासिल गर्न सक्नुभएको छैन । त्यसैले पनि उहाँलाई यस पुस्ताका सर्वश्रेष्ठ खेलाडीमध्ये एक मान्नेमा नै प्रश्न उठ्ने गरेको छ । यसपालि फ्रान्सलाई फेरि विश्वकप दिलाउन सकेमा एम्बापे यस वर्षको बालोन डी ओर जित्ने बलियो दाबेदार बन्न सक्नुहुने छ ।

४. इर्लिङ हालान्ड

म्यान्चेस्टर सिटीका स्ट्राइकर हालान्ड आफ्नो पहिलो पटक विश्वकप फुटबल प्रतियोगिता खेल्दै हुनुहन्छ । हालान्ड अहिलेका विश्वकै उत्कृष्ट स्ट्राइकरभन्दा फरक पर्दैन । उहाँले प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका लागि पछिल्ला चार वर्ष हरेक सत्र ३० भन्दा बढी गोल गर्नुभएको छ । हालान्डले नर्वेको जर्सीमा पनि ५५ गोल गरिसक्नुभएको छ । हालान्डलाई पनि थाहा छ, यस पटकको विश्वकपमा नर्वेको छवि उच्च पार्न सबभन्दा ठुलो जिम्मेवारी उहाँकै हुने छ । उहाँका बुवा एल्फी हालान्डले पनि नर्वेका लागि विश्वकप (सन् १९९४) खेलिसक्नुभएको छ । हालान्ड यस विश्वकपको सबैभन्दा घातक फरवार्डमध्ये एक हुनुहुन्छ ।

५. लामिने यमाल

स्पेनका किशोर उमेरका फरवार्ड यमालले सन् २०२४ मा स्पेनलाई युरापेली च्याम्पियन बनाउन महìवपूर्ण भूमिका खेलेर आफ्नो क्षमता देखाइसक्नुभएको छ । १८ वर्षीय यमाल अझ अनुभवी भएर विश्वकप खेल्दै हुनुहुन्छ । तीव्र गति, उत्कृष्ट ड्रिब्लिङ र सिर्जनशील खेल शैलीका कारण यमालको तुलना मेसीसँग हुने गर्दछ । भविष्यमा मेसी र रोनाल्डोले छोड्ने खाली स्थान भर्ने सबैभन्दा सम्भावित खेलाडी यमाल हुनुहुन्छ भन्दा फरक पर्दैन ।

६. उस्मान डेम्बेले

हालका बालोन डी ओर विजेता डेम्बेले लगातार च्याम्पियन्स लिग विजेता बनेर विश्वकप खेल्दै हुनुहुन्छ । तीन वर्षअघि पेरिस सेन्ट जर्मेनमा आबद्ध भएपछि फ्रान्सका यी फरवार्ड गजबले विश्व फुटबलको उचाइमा पुगेका छन् । उहाँकै उपस्थितिले पनि फ्रान्सलाई उपाधिको प्रमुख दाबेदारका रूपमा लिइएको छ ।

७. नेमार

नेमारले आफ्नो खेल जीवनमा ब्राजिललाई धेरै खेल जिताउनुभएको छ । । यद्यपि ब्राजिललाई छैटौँ विश्वकप दिलाउने सपना अझै पूरा भएको छैन । ३४ वर्षीय नेमारले चौथो पटक विश्वकप खेल्न लाग्नुभएको हो । नेमार ब्राजिलका सर्वाधिक गोलकर्ता पनि हुनुहुन्छ । उहाँले ब्राजिलको जर्सीमा ७९ गोल गर्नुभएको छ । ३४ वर्षीय स्ट्राइकर नेमार फिटनेसका कारण टिममा नपर्ने हल्ला थियो तर हाल ब्राजिलको कमजोर प्रदर्शनपछि प्रशिक्षक कार्लो एन्सोलेटीले नेमारलाई विश्वकप टोलीमा समावेश गर्नुभएको हो ।

८. मोहम्मद सलाह

मोहम्मद सलाह इजिप्टका आदर्श फुटबलर हुनुहुन्छ । उहाँले इजिप्टका लागि ४४२ खेलमा २५७ गोल गर्नुभएको छ । च्याम्पियन्स लिग तथा दुई प्रिमियर लिग उपाधि सलाहको सङ्ग्रहमा रहेका छन् । इजिप्टका समर्थकले विश्वकपमा सलाह उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिरहेका छन् । गत सत्र इङ्ग्लिस प्रिमियर लिगमा गोल्डेन बुट जितेर सानदार लयमा रहेको सलाहको टिम इजिप्ट प्ले अफमा सेनेगलसँग टाइब्रेकरमा हारेपछि विश्वकपमा चयन हुन सकेन । पेनाल्टीमा गोल गर्न नसक्ने खेलाडी सलाह नै थिए । त्यसैले पनि सलाहले यस विश्वकपमा सो पीडा भुलाउन प्रयास गर्नुहुने छ ।

९. युड बेलिङ्घम

युड बेलिङ्घम विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली मिडफिल्डरमध्ये एक मानिएको छ । रियल म्याड्रिडमा आबद्ध भएपछि उहाँले पहिलो सत्रमै क्लबलाई च्याम्पियन्स लिग र ला लिगा जिताउन सहयोग गर्नुभएको थियो । यसै गरी उहाँले दुई वर्षअघि इङ्ग्ल्यान्डलाई युरो फाइनलसम्म पु¥याउन पनि ठुलो भूमिका खेल्नुभएको थियो ।

१०. क्रिस्टियन पुलिसिच

पुलिसिचलाई अमेरिकी फुटबलको सुपरस्टार खेलाडी हुनुहुन्छ । उहाँसँग जर्मनी, इङ्ग्ल्यान्ड र इटालीका ठुला क्लबमा खेलेको अनुभव छ । चेल्सीमा आबद्ध हुँदा पुलिसिचले च्याम्पियन्स लिग पनि जित्नुभएको थियो । पुलिसिच हाल इटालीको ठुलो क्लब एसी मिलानमा आबद्ध हुनुहुन्छ । त्यसैले घरेलु भूमिमा हुने विश्वकपमा पुलिसिच अमेरिकी टोलीका मुख्य आशाका रूपमा रहनुहुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर