विपक्षी सांसदहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आज मंगलबार बसेको बैठकमा विपक्षी दलहरूको वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा गरेका छन् । दुई घन्टा ढिलोगरी सुरु भएको बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको थियो ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ ।
बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्र्ष वं सांसद हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाह बालेनको हाजिरी नभएको कुरा उठाए । प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था छ ।
नियमावलीको यही नियम स्मरण गर्दै साम्पाङले प्रधानमन्त्री बालेनको हाजिरी खोजेका हुन् ।
