प्रधानमन्त्री दिएको अभिव्यक्ति घोर आपत्तिजनक : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्ति घोर आपत्तिजनक रहेको टिप्पणी गरेका छन् । बुटवलमा सोमवार आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री साहको उक्त अभिव्यक्ति धेरै नबुझी बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए खतरनाक रहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
प्रधानमन्त्री साहको सीमा सम्बन्धी अभिव्यक्ति निन्दनीय, घोर आपत्तिजनक रहेको निष्कर्ष निकाल्दै सभापति थापाले त्यसलाई आफ्नो पार्टीले सम्पूर्ण रूपमा विरोध गर्ने बताए । उनले प्रधानमन्त्री साहको अभिव्यक्तिले भारतसँग नेपालको सीमा सम्बन्धी अडानलाई कमजोर बनाएको, कूटनीतिक माध्यमाबाट ती समस्या हल गर्न सकिने सम्भावनालाई क्षीण बनाएको जिकिर समेत गरे ।
थापाले भने ‘हिजो संसदमा सम्माननीय प्रधानमन्त्रीजीले हामीले पनि भारतको सिमाना मिचेका रहेछौ मैले पहिलो पटक थाहा पाएँ भनेर बोल्नुभयो । यो विषयमा नेपाली काँग्रेस पार्टीको भूमिका के हुनुपर्छ ? २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड बहुमत थियो । यस्तैयस्तै स्थिति आयो । नेपाल कम्युनिष्ट पार्टीको सरकारले संविधान संशोधनका लागि प्रस्ताव लिएर आयो । विश्वप्रकाश शर्मा यही हुनुहुन्छ । उहाँ पार्टीको प्रवक्ता हुनुहुन्थ्यो । म पार्टीको केन्द्रीय सदस्य थिएँ । हामी दुई जना हो, एकाबिहानै उठेर शेरबहादुर देउवाको घरमा गयौँ । श्रेद्धय सभापति शेरबहादुर देउवाको घरमा गएर यो विषयमा हामी प्रतिपक्षमा छौ । राष्ट्रहितको पक्षमा छ । नेपाल कम्युनिष्ट पार्टीले ल्याएको यो प्रस्तावलाई हाम्रो पनि प्रस्ताव हो । यसलाई एक दिन पनि विलम्ब नगरी यसको पक्षमा पार्टीले निर्णय गर्नुपर्छ भनेर बैठक राख्न लगाएर त्यो बेला सरकारसँग उभिएर नेपालको संविधानमा नेपालको नक्सालाई अङ्कित गर्ने काम हिजो नेपाली काँग्रेस पार्टी सँगसँगै उभिएर गरेर आयो ।
हामी राष्ट्रिय हितको सन्दर्भको विषयमा प्रतिपक्षमा हुँदैगर्दा हामी नाफाघाटा, समर्थन वा विरोधको कुरालाई त्यसरी हेर्दैनौ । आज पनि हेर्दैनौ । केही समय अगाडि सरकारले एउटा वक्तव्य निकाल्यो । सरकारले नोट पठायो भारतलाई, चीनलाई । खासगरी मान सरोवरको यात्रा सुरु भइसकेपछि नेपाली काँग्रेसको यही केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरेर सरकारको स्वागत ग¥यो । स्वागत मात्रै गरेन । सरकार हामी साथमा छौ भनेर भन्यो । एउटै दिन २ वटा निर्णय ग¥र्यौं । सीमा विवादको विषयमा तिम्रो साथमा छौ भन्यौ । सुकुम्वासीमा तिमले गरेको कामको विरोधमा उभिन्छौ भन्यौ । यो कांग्रेसको क्यारेक्टर हो । हिजो प्रधानमन्त्रीले जे विषय बोल्नु भयो ।
नेपालको सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा सम्माननीय प्रधानमन्त्रीजीले राख्नु भएको विषय निन्दनीय छ, घोर आपत्तिजनक छ ।र, नेपाली काँग्रेस पार्टीले यसको सम्पूर्ण रूपमा विरोध गर्दछ । हामीले यो कुरालाई प्रस्ट भनिसकेका छौ । सीमा विवाद जस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडानहरू छन् । त्यसका पछाडि केही कथनहरू छन्, प्रमाणहरू छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ । छिमेकीसँग कूटनीतिक माध्यमाबाट हल गर्न सकिने सम्भावनालाई क्षीण बनाएको छ । नेपाली काँग्रेस पार्टी यसको विरोध गर्दछ । कति साथीहरूले के भनी राख्नुभएको छ भने प्रधानमन्त्रीले यो कुरा धेरै नबुझी बोल्नु भयो । धेरै नबुझी बोल्न भएको छ भने यो विषय चिन्ताजनक छ । धेरै बुझेर बोल्नु भएको छ भने यो खतरनाक छ । दुवै अवस्थामा कांग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेछ । सम्माननीय प्रधानमन्त्रीजीले नेपाल र भारतको सिमानाको बारेमा, नेपाल भारतको खुला सिमानाबारे सामान्य राजनीतिक सुझबुझ पनि राख्नु हुँदो रहेनछ भन्ने कुराको प्रमाण हिजो आफैले दिनुभएको छ ।’
