प्रतिनिधिसभामा किन घम्साघम्सी भयो र विपक्षी किन पर्यो पेलानमा
काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन जबरजस्ती पारित गर्न खोजिएको भन्दै सदनमा हिजो आइतबार साँझ तनाव भयो । प्रतिपक्षी सांसदहरूले विरोध जनाएपछि सदन अवरुद्ध हुनु का साथै विरोधका क्रममा घम्साघम्सी भएको थियो । विरोधका बिच सभामुख डीपी अर्यालले सदनको कारबाही अघि बढाएर प्रतिवेदनसहितको नियमावली बहुमतले पारित भएको घोषणा गरे ।
प्रतिपक्षी दलहरूको माग अनुसार प्रतिनिधिसभा नियमावलीका कतिपय दफाहरूमा विस्तृत छलफल गर्नुपर्ने थुप्रै विषयहरू रहेकाले सम्बन्धित समितिमा पठाएर छलफ गरी पुनः पारित गरौं भन्ने थियो भने सत्तारुढ दलले पहिल्यै नै व्यापक छलफल गरेर प्रतिवेदन तयार पारेर ल्याइसकेकाले अहिले फेरि बखेडा खडा गर्नु नियसम्मत नभएकाले आइतबारै पास गरेर लागू गर्नुपर्ने भनाइ रहेको थियो । यही विषयमा मतान्तर हुँदा र सभामुख डीपी अर्यालले एकहोरो कारवाही अगाडि बढाउँदा विपक्षीहरू चिढिएर विरोधका क्रममा घम्साघम्सी र कुर्सी उचाल्ने र कुसन फालाफालको स्थिति उत्पन्न भएको थियो । मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरुले रोष्ट्रममा पुगेर अवरोध गर्नुका साथै लगातार वेल घेराउ गरेका थिए । 

