रोयल च्यालेन्जर्स बेंग्लुरु आईपीएलको फाइनलमा
काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मङ्गलबार धर्मशालामा भएको महत्त्वपूर्ण प्लेअफ खेलमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै बेंग्लुरुले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
पहिले ब्याटिङ गर्दै बेंग्लुरुले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात टाइटन्स १९.३ ओभरमा मात्र १६२ रनमा समेटिएपछि बेंग्लुरु ९२ रनको फराकिलो अन्तरले विजयी भएको हो। साविक विजेता बेंग्लुरु यो जितसँगै लगातार दोस्रोपटक उपाधि रक्षा गर्न फाइनलमा पुगेको छ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लुरुले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाएर २५४ रनको विशाल योगफल तयार पारेको थियो। यो स्कोर आईपीएलको नकआउट तथा प्लेअफ चरणको इतिहासकै सबैभन्दा उच्च स्कोर हो। यसअघि यो कीर्तिमान सन् २०२३ मा गुजरात टाइटन्सले मुम्बई इन्डियन्स विरुद्ध २३३ रन बनाएर राखेको थियो।
बेंग्लुरुका लागि कप्तान रजत पाटीदारले उत्कृष्ट र आक्रामक ब्याटिङ गर्दै मात्र ३३ बलमा ९३ रनको अविजित पारी खेले। उनको इनिङ्समा ५ चौका र ९ छक्का सामेल थिए। यस्तै विराट कोहली र क्रुणाल पाण्ड्याले समान ४३–४३ रन जोडे भने देवदत्त पाडिक्कलले ३० र ओपनर वेङ्कटेश अय्यरले १९ रनको योगदान दिए।
२५५ रनको कठिन लक्ष्य पछ्याएको गुजरात टाइटन्स सुरुदेखि नै दबाबमा देखिएको थियो। गुजरातका लागि मध्यक्रमका ब्याटर राहुल तेवाटियाले ४३ बलमा ६८ रनको सान्त्वनादायी पारी खेले पनि अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। ओपनर जोस बटलरले ११ बलमा २९ रन र साई सुदर्शनले ९ बलमा १४ रन मात्र बनाउन सके।
गुजरातलाई सस्तैमा समेट्न बेंग्लुरुका बलर ज्याकोब डफीले घातक बलिङ गर्दै ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, ब्याटिङमा चम्किएका अलराउन्डर क्रुणाल पाण्ड्याले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ३.३ ओभरमा मात्र १६ रन दिएर २ विकेट झारे। स्पिनर रसिक सलामले पनि २ विकेट हात पारे।
यो जितसँगै बेंग्लुरु सीधै फाइनलमा प्रवेश गरेको छ। पराजित भएको गुजरातले भने फाइनल पुग्नका लागि दोस्रो मौका पाउनेछ। उसले बुधबार हुने सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीचको विजेता टोलीसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नुपर्नेछ। गत सिजनको फाइनलमा पञ्जाबलाई ६ रनले हराउँदै पहिलोपटक आईपीएलको उपाधि जितेको बेंग्लुरु यसअघि सन् २००९, २०११ र २०१६ मा पनि उपविजेता बनेको थियो।
