रास्वपा महाधिवेशनको कार्यतालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ । स्वीकृत कार्यतालिकामा ७७ वटा जिल्ला र ७ वटै प्रदेशमा निर्वाचन समिति गठनदेखि लिएर महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका कामहरू समेटिएका छन् ।
महाधिवेशनमा प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ । जेठ ७ देखि असार ५ गतेसम्म इलेक्ट्रोनिक भोटिङ मेसिनसम्बन्धी छलफल र तयारीका लागि समय छुट्याइएको छ । केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा हस्ताक्षरित उक्त सूचनामा सबै प्रदेश समितिका सभापतिहरूलाई आ-आफ्नो प्रदेशअन्तर्गतका जिल्ला सभापतिहरूसँग आवश्यक समन्वय गरी कार्यतालिका अनुसार काम सम्पन्न गर्न सहयोग गर्न भनिएको छ ।

