रास्वपा महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ । स्वीकृत कार्यतालिकामा ७७ वटा जिल्ला र ७ वटै प्रदेशमा निर्वाचन समिति गठनदेखि लिएर महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका कामहरू समेटिएका छन् ।

जिल्ला तथा ७ प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्य जेठ ७ गतेदेखि सुरू भई जेठ १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । त्यसैगरी, आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने कार्य जेठ १० सम्म र स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्य जेठ २० गतेसम्मका लागि तोकिएको छ । जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने अन्तिम मिति जेठ ३० गते र महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने मिति जेठ २५ गतेसम्म निर्धारण गरिएको छ । यस्तै, प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण असार ५ गतेभित्र बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

महाधिवेशनमा प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ । जेठ ७ देखि असार ५ गतेसम्म इलेक्ट्रोनिक भोटिङ मेसिनसम्बन्धी छलफल र तयारीका लागि समय छुट्याइएको छ । केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा हस्ताक्षरित उक्त सूचनामा सबै प्रदेश समितिका सभापतिहरूलाई आ-आफ्नो प्रदेशअन्तर्गतका जिल्ला सभापतिहरूसँग आवश्यक समन्वय गरी कार्यतालिका अनुसार काम सम्पन्न गर्न सहयोग गर्न भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर