के आज एमालेमा ओलीको जिद्दीपनको उपचार खोजिएला ?
काठमाडौं । एमालेको सचिवालय बैठक आज आइतबार पनि बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान साढे ११ बजे बैठक सुरु हुने छ। बैठकमा पार्टीको आन्तरिक अवस्था र नेतृत्वका विषयमा छलफल भइरहेको छ। शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक आइतबारका लागि लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
बैठकमा बाँकी चार जना सचिवहरूले आफ्नो धारणा राख्नेछन् भने पदाधिकारीहरूले उठाएका प्रश्नको अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम छ। जारी बैठकमा अध्यक्ष ओलीमाथि नेतृत्व छाडेर मार्ग प्रशस्त गर्न दबाब बढेको छ।
बैठकमा पाँच उपाध्यक्षमध्ये चार जना- विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्टले अध्यक्ष ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्। उनीहरूले फागुन २१ को चुनावमा पार्टीले व्यहोरेको क्षतिको नैतिक जिम्मेवारी लिँदै पार्टीलाई नयाँ ढङ्गले लैजान आफूहरू पनि पद त्याग्न तयार रहेको बताएका छन्।
यस्तै, शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले पनि पार्टीभित्र गम्भीर समस्या रहेको र कार्यकर्तामा निराशा बढेको बताउँदै अहिलेकै अवस्थामा अघि बढ्न नसकिने धारणा राखेका थिए। उपमहासचिव योगेश भट्टराईले पनि नेतृत्व परिवर्तनको पक्षमा मत राखेका छन्। ओलीको बचाउमा भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत उभिएका छन्। एमालेका एक नेताका अनुसार राजीनामाका सम्बन्धमा आफ्नो धारणा व्यक्त गर्न ओली स्वतन्त्र रहेको र अधिकांश पार्टीका नेताहरूको सुझावबमोजिम ओलीले मार्ग प्रशस्त नगरेमा उनको जिद्दीपनको उपचार खोज्न ओली गूटबाहेक अन्यहरू वाध्य हुनेछन् ।
