प्रधानमन्त्री बालेन उपयुक्त समयमा संसद आउने : सभामुख अर्याल
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहको ‘ब्याकप’ लिएर विपक्षी दलको स्वाभाविक मागलाई पेल्दै संसद चलाएको आरोप लागेको छ । प्रतिनिधिसभा नियमावलीमा भएको प्रधानमन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रम संचालनको माग राख्दै नारावाजी गरेपछि संसद स्थगन गरेर प्रधानमन्त्री शाहलाई भेटेका सभामुख अर्यालले विपक्षीको माग वेवास्ता गर्दै संसद अघि बढाएका हुन् ।
प्रतिनिधिसभा नियमावली कार्यान्वयन गर्न विपक्षी दलका सांसदहरुले माग गरिरहँदा सभामुख अर्यालले प्रधानमन्त्रीलाई उपस्थित गराउन नसकेको र शाहकै ‘ब्याकप’मा विपक्षी दलका सांसदको विरोधका बिच संसद अघि बढाएपछि संसदमा सरकारको छायाँ परेको भन्दै विरोध भएको छ ।
विपक्षी दलको विरोध भईरहेपछि विहिबार प्रधानमन्त्री भेट्न गएका अर्याललाई प्रधानमन्त्री शाहले उपयुक्त समयमा संसदमा आएर सांसदहरुको प्रश्नको जवाफ दिने भन्दै अहिले प्रक्रियामा जान भन्दै अर्याललाई पठाएका थिए । प्रधानमन्त्रीलाई संसद आउने बनाउन असफल भएका अर्यालले भेटपछि फर्किएर कार्यव्यवस्था परामर्श समितिमा ‘उपयुक्त समयमा संसद आउने’ प्रधानमन्त्रीको जवाफ सुनाएका थिए । प्रधानमन्त्री भेटेर फर्किएपछि संसद सुचारु गरेका सभामुख अर्यालले धमाधम प्रक्रिया अगाडि बढाएका थिए ।
