गुजरातले चेन्नईलाई ८९ रनको विशाल अन्तरले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को लिग चरणमा अब मात्र चार खेल बाँकी छन्। बिहीबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको खेलमा गुजरातले चेन्नईलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको छ। यस पराजयसँगै चेन्नई प्लेअफको दौडबाट बाहिरिने मुम्बई र लखनउपछि तेस्रो टोली बनेको छ। चेन्नईको १४ खेलमा ६ जितका साथ मात्र १२ अङ्क रह्यो।
अर्कोतर्फ गुजरातले यो जितसँगै अङ्क तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ। गुजरातको १४ खेलमा ९ जित र १ रद्द खेलसहित कूल १७ अङ्क रहेको छ र टोली दोस्रो स्थानमा कायम छ। यो ठुलो जितले गुजरातको शीर्ष दुईमा रहँदै क्वालिफायर-१ खेल्ने सम्भावनालाई निकै बलियो बनाएको छ।
बैंगलुरू १८ अङ्क र +१.०६५ को उत्कृष्ट नेट रनरेटका साथ अङ्क तालिकाको पहिलो स्थानमा सुरक्षित छ। बैंगलुरू यसअघि नै प्लेअफमा पुगिसकेको छ र उसको क्वालिफायर-१ खेल्ने सम्भावना लगभग पक्का देखिएको छ। बैंगलुरूले आफ्नो अन्तिम लिग खेल आज हैदराबादविरुद्ध खेल्दैछ।
अर्कोतर्फहैदराबादको १३ खेलमा ८ जितका साथ १६ अङ्क छ। बैंगलुरूविरुद्धको आजको अन्तिम खेल जितेर हैदराबाद १८ अङ्कसम्म पुग्न सक्छ, तर उसको नेट रनरेट बैंगलुरू र गुजरातको तुलनामा निकै कमजोर छ। त्यसैले शीर्ष दुईमा स्थान बनाउँदै क्वालिफायर-१ खेल्नका लागि हैदराबादले आज बैंगलुरूलाई रेकर्डतोड विशाल मार्जिनले हराउनुपर्ने हुन्छ।
चेन्नई प्रतियोगिताबाट बाहिरिएपछि पञ्जाब (१३ अङ्क) र कोलकाता (१३ अङ्क) को प्लेअफ यात्रा थप रोमान्चक बनेको छ। यी दुवै टोली क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन्। प्लेअफमा स्थान बनाउन दुवै टोलीले आफ्नो अन्तिम खेल जित्नुका साथै चौथो स्थानमा रहेको राजस्थानको हारको कामना गर्नुपर्नेछ।
राजस्थान १३ खेलमा १४ अङ्कका साथ चौथो स्थानमा छ र उसको प्लेअफ समीकरण सीधा छ। राजस्थानले मे २४ मा मुम्बई इन्डियन्सविरुद्ध हुने आफ्नो अन्तिम लिग खेल जितेमा सिधै प्लेअफमा स्थान सुरक्षित गर्नेछ।यस्तै, दिल्ली १३ खेलमा १२ अङ्कका साथ सातौँ स्थानमा छ। तर, दिल्लीको नेट रनरेट (-०.८७१) निकै खराब भएकाले उसले कोलकाताविरुद्धको खेल जित्नुका साथै राजस्थान र पञ्जाबको विशाल हारको प्रार्थना गर्नुपर्ने देखिन्छ।
पाँच-पाँच पटकका च्याम्पियन मुम्बई र चेन्नईका साथै लखनउ यस सिजनको प्लेअफ दौडबाट आधिकारिक रूपमा बाहिरिएका छन्। चेन्नईले आफ्ना सबै १४ खेल खेलिसकेको छ भने मुम्बई र लखनउको १३-१३ खेलमा समान ८ अङ्क मात्र छ। मुम्बई तालिकाको नवौँ र लखनउ सबैभन्दा तल दसौँ स्थानमा छन्। मुम्बईले मे २४ मा राजस्थानविरुद्ध र लखनउले मे २३ मा पञ्जाब किंग्सविरुद्ध आफ्नो प्रतिष्ठाका लागि अन्तिम खेल खेल्नेछन्।
