एमालेबाट ओली किनार लाग्दै ? विद्या भण्डारी आउँदै
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीति गर्ने बाटो खुला भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता खुला गर्ने निर्णय गरेसँगै उनलाई सक्रिय राजनीति गर्ने बाटो खुलेको हो । भण्डारीको सदस्यता खुला भएसँगै नेकपा एमालेको नेतृत्व र पार्टी एकताको प्रक्रिया समेत अघि बढ्ने सङ्केत देखिएको छ ।
यसअघि नवीकरण भएको भण्डारीको सदस्यता समेत अध्यक्ष केपी ओलीको चाहानामा खारेज गरिएको थियो । सदस्यता खारेज भएपछि भण्डारी एमाले नेतृत्वसँग असन्तुष्ट बनेकी थिइन् । २०८२ साल साउन पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता खारेज गरेको थियो ।
२०७९ सालमा राष्ट्रपतिको कार्यकाल पुरा गरेसँगै भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कन चाहेकी थिइन् । तर भण्डारी सक्रिय राजनीतिमा फर्कँदा अध्यक्ष ओलीको तेस्रो पटक अध्यक्ष बन्ने चाहनामा बाधा पुग्ने देखेर उनले भण्डारीको सदस्यता नै खारेज गरेका थिए । भण्डारीले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमबाट आफू सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् ।
एमाले केन्द्रीय सचिवालयको अर्को बैठक जेठ ८ गते बस्ने भएको छ।
