ओली र भण्डारीबीच भलाकुसारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार दुई घण्टाभन्दा लामो छलफल भएको छ ।

गुण्डु पुगेकी भण्डारीले पत्थरीको शल्यक्रियापछि आराम गरिरहेका ओलीलाई निवासमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको बताइएको छ । भण्डारी ओली अस्पतालमै रहेका बेला पनि भेट्न गएकी थिइन् । ओलीले भण्डारीको सदस्यता नवीकरण नगरेर उनलाई पार्टीको सक्रिय राजनीतिमा आउन रोकेका थिए ।

एमालेमा पदाधिकारीहरुकै तहबाट ओलीलाई राजीनामा गराएर पार्टी पुनर्गठनको प्रयास भइरहेका बेला उनीहरुबीच छलफल भएको हो। एमालेमा भइरहेका पछिल्लो भेला तथा नेताहरूका अभियानको बारेमा पनि दुई नेताबीच समीक्षा भएको जनाइएको छ । पछिल्लो समय ओली र भण्डारीबीच चिसिएको सम्बन्धमा सुधार आएको बताइन्छ ।

ओलीले नेतृत्व छाड्ने अवस्थामा अहिलेका पदाधिकारीबाट कोही पनि विकल्प नरहेको भन्दै एकथरी नेताले अन्तरिम अवधिका लागि भने पनि विद्या भण्डारीको नेतृत्वमा पार्टीलाई पुनर्गठन गर्नुपर्ने बताउँदै आएका छन् । (तस्बिरःफाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर