आईपीएल : चेन्नई सुपर किंग्सको दोस्रो जित

काठमाडौं ।  चेन्नई सुपर किंग्सले आईपीएलको जारी सिजनमा लगातार दोस्रो जित दर्ता गरेको छ। मंगलबार अरुण जेटली मैदानमा खेलिएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराएको हो। टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.३ ओभरमा मात्र २ विकेट गुमाएर सो लक्ष्य पुरा गर्‍यो।

यो जितसँगै चेन्नईको १० खेलबाट १० अंक भएको छ भने दिल्लीले १० खेलमा छैटौं हार बेहोरेको छ। दिल्लीले १० खेलमा ८ अंक रहेको छ । चेन्नईका लागि सञ्जु सामसनले उत्कृष्ट प्रदर्शन गर्दै ५२ बलमा अविजित ८७ रनको इनिङ खेले। सामसनले यस सिजनको आफ्नो दोस्रो अर्धशतक बनाउने क्रममा ७ चौका र ६ छक्का प्रहार गरे। उनलाई खेलको ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।

सामसन बाहेक कार्तिक शर्माले अविजित ४१ रन बनाए भने सामसन र शर्माबीच तेस्रो विकेटका लागि अविजित ११४ रनको साझेदारी भयो। दिल्लीका तर्फबाट लुङ्गी एनगिडी र अक्षर पटेलले १–१ विकेट लिए।

यसअघि दिल्लीका लागि समीर रिज्वीले अविजित ४० रन र ट्रिस्टन स्टब्सले ३८ रनको योगदान दिएका थिए। रिज्वी र स्टब्सबीच छैटौं विकेटका लागि ६५ रनको साझेदारी भएको थियो। त्यस्तै पथुम निसांकाले १९, नीतीश राणाले १५, आशुतोष शर्माले १४, करुण नायरले १३ र केएल राहुलले १२ रन बनाए। चेन्नईका लागि बलिङतर्फ नूर अहमदले सर्वाधिक २ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर